गायक दुर्गेश थापालाई कारबाही गर्ने प्रतिष्ठानको तयारी

काठमाडौं । गायक दुर्गेश थापालाई नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले कारबाही गर्ने तयारी गरेको छ । थापाले केही दिन अगाडि ल्याएको तीज बिशेष गीत ‘बीच्च बीच्चमा ४–ख्यास्स पुतली’ तीजको मर्म विपरित रहेको र कला संस्कृतिमाथि प्रहार भएको ठहर गर्दै उनलाई प्रतिष्ठानले कारबाही गर्ने तयारी गरेको जनाएको छ ।

उनलाई प्रतिष्ठानले तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको थियो । थापालाई प्रतिष्ठानले आधिकारिक पत्र काट्दै सच्याउन अनुरोध गरेको थियो । तर, उनले प्रतिष्ठानको अनुरोधलाई अटेर गर्दै गीत सार्वजनिक गरेका थिए । थापाले प्रतिष्ठानको अनुरोध अस्वीकार गर्दै नेपाली कला संस्कृतिमाथि लगातार प्रहार गरेको भन्दै प्रतिष्ठानले थापालाई संस्थागत र सार्वजनिक रुपमा बहिष्कार गर्ने निर्णयमा पुगेको प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्युनिकरण विभागले जनाएको छ ।

विभागका अनुसार थापालाई संस्थागत बहिस्कार गर्ने विषयमा पटक पटक छलफल भएको छ । एउटा व्यक्तिसँग प्रतिष्ठान नझुक्ने र कारबाही गर्ने प्रतिष्ठानको तयारी रहेको छ । थापाले पैसा र चर्चाको लागि यस्तो हर्कत गर्दै आएको प्रतिष्ठानको ठहर छ ।

प्रतिष्ठानले थापालाई आजीवन सदस्यबाट निलम्बन गर्ने, प्रतिष्ठानको सेवा सुविधाबाट हटाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले व्यवसायिक साझेदारी नगर्ने, सार्वजनिक मेला महोत्सवबाट बहिस्कार गर्ने, देशभरका आफ्नो शाखा तथा कार्यक्रम आयोजकलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन अनुरोध गर्नेलगायतको तयारी गरेको छ । त्यस्तै उनलाई कारबाहीको लागि राज्यसँग माग गर्ने, उनको गीत हटाउन गुगललाईसमेत उजूरी गर्ने प्रतिष्ठानको तयारी रहेको छ ।

थापाको क्रियाकलापबाट राज्यले गीत संगीतमा सेन्सर लगाउने अवस्था आउने र त्यो अवस्था आए गीत संगीत क्षेत्रका लागि दुर्घटना हुने प्रतिष्ठानको बुझाई रहेको छ । थापाको यस्तो खाले गीत संगीतको लागि महिला दिदी बहिनीहरुलाई जागरुप हुन र उनको यस्तो कृयाकलापको बिरोध गर्दै हत्सोसाहित गर्न पनि प्रतिष्ठानले आग्रह गरेको छ । नयाँ रिलिज भएको गीतमा संगीत, शब्द र स्वार थापाकै रहेको छ । उनले सृजना गरेका गीत संगीत पटक पटक विवादमा आएका छन् । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार