मोरङमा एक महिला मृतावस्थामा फेला, तीन जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए । घरमा निस्किएको केहीबेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ । प्रहरीलाई खबर गर्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको शव घटनास्थलबाट उठाएर घरमा ल्याएर राखेका थिए ।

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिए पनि मृत्युको कारण खुल्न सकिरहेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी श्रेष्ठले दिनुभयो ।

प्रहरीका अनुसार हाँस हराएपछि खोजी गर्न क्रममा छिमेकीसँग उनको विवाद भएको थियो । धान रोपिएको र पानी जमेको खेतमा शव भेटिएपछि जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ ।

जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरू ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाइ मुखिया र उनकी श्रीमती सती मुखियालाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार