ओलीको विश्लेषण : अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय

काठमाडौं । नेकपा एमालेले अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय भएको बताएको छ । स्थायी कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीतिबारे बोलिएको छ ।

अमेरिका र नेटो सैन्य गठबन्धन सैनिकको बहिर्गमनपछि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुले नियन्त्रण कायम गरेको भन्दै एमालेले भनेको छ, ‘२५ खर्ब डलरभन्दा बढी खर्च गरेर पनि ठूलो क्षति व्यहोरेर अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको ५० वर्षपछि अमेरिकाले व्यहोरेको ठूलो असफलता र पराजय हो ।’

यसले जुनसुकै बहानामा गरिए पनि सैन्य आक्रमण गलत भएको प्रष्ट भएको एमालेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ‘कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्वन्धित मुलुककै जनताको हो, वाह्य शक्तिको होइन’ एमालेले भनेको छ ।आतंकवादले विश्वव्यापी चुनौती खडा गरेको, तर यसको विकल्प वाह्य हस्तक्षेप, आक्रमण वा कुनै देशको कब्जा हुन नसक्ने पनि एमालेले बताएको छ ।

तालिबानले नियन्त्रणसँगै अफगानिस्तानको भविश्यलाई लिएर गम्भीर चिन्ता र आशंका पैदा भएको एमालेले बताएको छ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘तालिबानले इतिहासबाट पाठ सिकेर आफूहरुलाई विश्व परिस्थिति अनुकुल बनाउँछ कि आतिवादी, रुढीवादी र अमानवीय शासन व्यवस्थालाई निरन्तरता दिन्छ ? यसैगरी आंकवादको संरक्षक बन्छ कि भूराजनीतिक संवेदनशीलताप्रति सजग बन्दै अगाडि बढ्छ, यकिन छैन ।’

अफगानिस्तान घटनाको बाछिटा दक्षिण एसियामा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपालले प्रष्ट रुपमा अहस्तक्षेप, लोकतन्त्र, खुलापन र क्षेत्रीय शान्तिको पक्षमा उभिननुपर्ने एमालेको जोड छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार