काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा सुधार

काठमाडौँ । भदौ मसान्तसम्म काठमाडौं महानगरपालिकाको राजस्व संकलन गत आर्थिक वर्षको तुलनामा केही सुधार भएको छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न ३४ शीर्षकमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रूपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकामा ९० करोड ३२ लाख ८५ हजार रूपैयाँ आम्दानी गर्न सफल भएको हो । जुन लक्ष्यको तुलनामा ९.९४ प्रतिशत मात्रै हुन आउँछ ।

महानगरले गत आव २०७७/०७८ मा सोही अवधिमा १० अर्ब ७६ करोड ६५ लाख रूपैयाँ आम्दानी प्रक्षेपण गरेकामा जम्मा ३२ करोड १७ लाख रूपैयाँ आम्दानी गरेको थियो । जुन २.९९ प्रतिशत मात्र थियो । महानगरले गत आव भन्दा चालू आवमा कम आम्दानी प्रक्षेपण गरेपनि यस अवधिमा संकलन भने बढी गरेको छ । नगरले चालू आर्थिक वर्ष २०७८/०७९ मा भदौ मसान्तसम्म सम्पत्ति, बहाल तथा पट्टावापतको आयमा लाग्ने करको प्रगति ७१.९८ प्रतिशत भएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिनुभयो ।

उनका अनुसार, पाँच करोड रूपैयाँ अनुमानित गरेकामा तीन करोड ५९ लाख ८८ हजार रूपैयाँ संकलन भएको छ । उक्त कर गत आवको सोही अवधिमा जम्मा २४.५८ प्रतिशत मात्रै संकलन भएको थियो, ४० करोड रूपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा गत आवको भदौ मसान्तसम्ममा ९८ लाख ३५ हजार तीन सय ३३ रूपैयाँ मात्र संकलन गर्न सफल भएको थियो ।

यसैगरी चालू आवमा महानगरले भदौ मसान्तसम्म सम्पत्ति कर पनि गत आवको सोही अवधिको तुलनामा संकलन वृद्धि भएको जनाएको छ । गत आवमा भदौ मसान्तसम्ममा सम्पत्ति कर जम्मा ६.६३ प्रतिशत संकलन भएकामा चालू आवमा भने २५.८१ प्रतिशत संकलन भएको छ । गत र चालू आवमा प्रस्तावित संकलन रकममा पनि अन्तर छ ।

यसैगरी महानगरले भूमिकर/मालपोत भने गत महिना मसान्तसम्ममा दुई करोड रूपैयाँ संकलन गर्ने लक्ष्य भएपनि जम्मा ३७ लाख ३८ हजार रूपैयाँ मात्र संकलन भएको जनाएको छ । नगरले भदौ मसान्तसम्म विभिन्न २२ किसिमका शीर्षकमा आय भएको जनाएको छ । यस अवधिमा उसले ३७ हजार छ सय ५० र बेरुजु फस्र्यौट एक लाख ५९ हजार रूपैयाँ भएको जनाएको छ ।

एक करोड रूपैयाँ बेरुजु फस्र्यौट हुने प्रस्तावित रहेको थियो ।तर गत आवमा भदौ महिनासम्म १० लाख रूपैयाँ बेरुजु फस्र्यौट गर्ने लक्ष्य राखिएकोमा प्रगति शून्य थियो ।भदौ मसान्तसम्ममा बाँडफाँट प्राप्त हुने सवारी साधन कर, समानीकरण अनुदान, घरजग्गा रजिष्ट्रेशन दस्तुर, सशर्त अनुदान(चालु), बाँडफाँटबाट प्राप्त मूल्य अभिवृद्धि करलगायतको राजस्व संकलन हुन नसकेको अधिकारीले जनाएका छन् । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार