कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असोज २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ ।

पर्वतको जलजला गाउँपालिका –७ ,धाइरीङमा जन्मनुभएका आचार्य बेलायत निवासी हुनुहुन्छ । आचार्यले बेलायतमा व्यवसाय गर्दै आउनुभएको छ । उहाँले यसअघि एनआरएनएको विभिन्न पदमा रहेर काम गर्नुभएको छ । सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको थियो । त्यसपछि सन् २०१३ मा अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बन्नुभएको थियो । संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग पराजित हुनुभएको थियो । अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. बद्री केसीले पति उमेद्वारी घोषणा गरिसक्नुभएको छ ।

भिडिओ हेर्नुहोस्

सुस्तामा विद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खोल्ने लगाएतको कामको अगुवाई गर्नुभएको छ ।आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो आगामी योजना सुनाउँदै भन्नुभयो , ‘प्रवासीलाई जन्मथलो र गाउँ सँग जोड्ने, गैरआवासीय नागरिताको व्यवस्था, दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्र्शी र मुनाफामुलक बनाउने लगायत मुद्धालाई अघि सारेको छु ।’ उहाँँले भन्नुभयो, ‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनअनरएनए नागरिकता आवश्यक छ । प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्दछ ।’

नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजी भित्र्याउने विषयमा बहस गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारी निकायसँग समन्वय गरेर नेपालबाट विदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने बताउनुभयो । उहाँले कोभिडका कारण रोजगारी गुमाएर स्वेदश फर्किएकाहरुलाई सघाउन एक एनआरएनए एक रोजगारी अवधारणा ल्याएको सुनाउनुभयो ।‘कोभिड–१९ का कारण ठुलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ ,’ उहाँले भन्नुभयो ’ स्वदेश फर्केका नेपालीहरुको लागि रोजगारी सिर्जना गर्न सघाउन मैले ’एक एनआरएनए एक रोजगारी’ भन्ने अवधारणा अघि सारेको छु ।’

प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफुले जोड दिदै आएको उहाँको भनाई थियो । महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद विधान अनुसार समाधान हुनुपर्ने र परराष्ट्र मन्त्रालयले छिटो छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उम्मेदुवारी घोषणा क्रममा आचार्यले जन्मथलो धाइरीङको किराखोरका पहिरो पिडितको पुर्नवारका लागि दश लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न एक लाख ५५ हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार