दुई महिनामै ४४ अर्बको निर्यात

काठमाडौँ । भटमासको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा चालु आर्थिक वर्षको दुई महिनामै निर्यात ११५ प्रतिशतले बढेर ४४ अर्ब नाघेको छ । साउन र भदौ महिनामा ४४ अर्ब ३९ करोड ५ लाख ९१ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ । गत आवको सोही अवधिमा २० अर्ब ४४ करोड ३० लाख ६२ हजार रुपैयाँको निर्यात भएको थियो ।

विभागको तथ्यांकअनुसार दुई महिनाको अवधिमा सबैभन्दा धेरै भटमासको तेल १६ अर्ब ४८ करोड १५ लाख १३ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै सो अवधिमा पाम आयल ७ अर्ब ५० करोड ६१ लाख ४ हजार रुपैयाँको निर्यात भएको छ । १ अर्ब ४५ करोड ८९ लाख ३८ हजार रुपैयाँको सनफ्लावर निर्यात भएको विभागको तथ्यांक छ । भारतमा खाने तेलको पर्याप्त आपूर्ति नहुँदा मूल्य अकासिएको छ । नेपाली बजारमा पनि खाने तेलको मूल्य बढिरहेको छ । यो बीचमा नेपालबाट तेलजन्य वस्तुको निर्यात धेरै भएको छ ।

भटमासको तेलपछि पाम तेल निर्यात भएको छ । कच्चा पदार्थ आयात गरेर पुनः भ्यालु एड गरेर निर्यात गर्दा नेपालको लागि धेरै फाइदा नहुने विज्ञहरु बताउँछन् । व्यापार विज्ञ पुरुषोतम ओझाले निर्यात बढ्नु सकारात्मक भए पनि स्वदेशी वस्तुको निर्यात बढाउन सकेमात्र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिनासम्म आयात ७५.८६ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष सो अवधिमा खर्ब ७८ करोड ८४अर्ब ८४ करोड २६ लाख ६८ हजार रहेको थियो ।

आयात निर्यात दुवै बढे पनि उच्च आयात हुँदा व्यापार घाटा भने ७०.७५ प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार पुगेको छ । दुई महिनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न, सवारीसाधन, डिजेल, भटमासको कच्चा पदार्थ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । साउनमै १ खर्ब ५० अर्बको आयात भएकोमा दोस्रो महिना भदौमा त्यो भन्दा बढीको आयात भएको छ । विभागको तथ्यांक अनुसार भदौमा मात्र १ खर्ब ६३ अर्बको आयात भएको छ ।

दुई महिनामा कुल ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात भएको छ । विभागका अनुसार दुई महिनामा सबैभन्दा धेरै २१ अर्ब ८४ करोड ४३ लाख ७४ हजार रुपैयाँको सवारी साधनका पार्टपुर्जा आयात भएको छ । १२ अर्ब ९२ करोड ३१ लाख २ हजार रुपैयाँको खाद्यान्न आयात भएको विभागको तथ्यांक छ । दुई महिनामा ८ अर्ब ३२ करोड ८९ लाख रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको छ । त्यस्तै डिजेल ६ अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार