दैलेखमा अलैंची उत्पादन वृद्धि

दैलेख । पछिल्लो समय दैलेखमा अलैंची खेतीको व्यवसाय बढ्दै गएको छ । कृषकहरुले व्यावसायिक रुपमा अलैंची खेती सुरु गरेसँगै उत्पादनमा वृद्धि हुँदै गएको हो । दैलेखका विभिन्न भू–भागमा लगाएको अलैंचीको उत्पादन बढ्दै गएपछि कृषकको आकर्षण पनि अलैंची खेतीमा उत्तिकै रहेको छ ।

गत वर्ष मात्रै दैलेखका विभिन्न स्थानीय तहबाट झण्डै एक करोड बढीको अलैंची निर्यात गरिएको भएपनि यस वर्ष उत्पादन अनुसार झण्डै अढाई करोड बढीको अलैंची निर्यात गर्ने व्यवसायीहरु बताउँछन् । अलैंची उत्पादनको राम्रो सम्भावना रहेका दैलेखको नौमूले, गुराँस, भगवतीमाई, महावु, डुङ्गेश्वर र भैरवी गाउँपालिकाकामा कृषकले अलैंची खेती गर्दै आएका छन् । कृषकले उत्पादन गरेको अलैंचीको उत्पादन निकै राम्रो भएकाले यो वर्ष दैलेखका ६ स्थानीय तहबाट २ करोड ५० लाख रुपैयाँबराबरको अलैंची निर्यात गर्ने तयारी थालिएको छ ।

विगतमा घरका आगनमा रहरले अलैंचीका बिरुवा लगाउने गरेको भएपनि यसको बजारीकरण राम्रो भएकाले कृषहरु अहिले व्यावसायीक रुपमा अलैंची खेतीतर्फ उन्मुख भएका छन् । अलैंची व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले व्यावसायिक रुपमा अलैंची खेतीको सुरुवात गरेको नौमूले गाउँपालिका ५ की हिरा बुढाले बताउनुभयो । “पहिला कस्तो हुने रहेछ विचार गर्नु प¥यो भनेर एक–दुई वुटा घर आगनमा रहरले रोपेकी थिएँ” उहाँले भन्नुभयो, “अहिले यसको माग तथा आम्दानी राम्रो भएकाले व्यावसायिक रुपमा खेती गरेकी छु ।”

नौमूले गाउँपालिका र ग्रामिण जलस्रोत परियोजनाको साझेदारीमा नौमूलेका विभिन्न स्थानमा अलैंची खेती गरिएको गाउँपालिका ग्रामीण जलस्रोत परियोजना अधिकृत लोकबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार व्यावसायिक रुपमा अलैंची खेती गरिरहेका कृषक समुहलाई यसै वर्ष अलैंची सुकाउने भट्टी वितरण गरिने कार्यक्रम रहेको छ ।

गाउँपालिकाका अध्यक्ष भदे बुढाले नौमूले गाउँपालिकाका अधिकांश स्थानमा अलैंची खेतीको राम्रो सम्भावना भएकाले कृषकलाई अलैंची खेतीमा आत्मर्निभर बनाउन गाउँपालिकाले कृषि क्षेत्रमा चासो दिएको बताउनुभयो । कृषकलाई व्यावसायिक रुपमा जागरुप बनाउन गाउँपालिकाले कृषि क्षेत्रमा विशेष बजेट विनियोजना गरेको अध्यक्ष बुढाले बताउनुभयो ।

कृषि विकास कार्यालय, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, जिल्लास्थित विभिन्न संघसंस्थामार्फत स्वंय कृषकहरुले व्यक्तिगत रुपमा लगाएका अलैंचीका बिरुवाले यो वर्ष दिने सम्भावित उत्पादनको आंकडा गर्दा २ करोड ५० लाख रुपैयाँ भन्दा बढीको अलैंची निर्यात गर्न सकिने ग्रामीण जलास्रोत व्यवस्थापन परियोजना दैलेखका सल्लाहकार हरि सापकोटाले बताउनुभयो । ६ वटै स्थानीय तहका कृषि शाखा प्रमुखहरु, अलैंची उत्पादक किसानको संयुक्त छलफलबट झण्डै २ करोड ५० लाख बराबरको अलैंची उत्पादन हुने तथ्यांक निकालिएको हो ।

अलैंची उत्पादनमा देखिएका समस्या समाधानका उपाय र बजारीकरणका लागि परियोजनाले सरोकारवालासँग छलफल गरेको छ ।दैलेखका ६ स्थानीय तहमा करिब २ हजार ४ सय ७६ हेक्टर जमिनमा अलैंची खेती गरीएको छ । दैलेखमा अलैंचीको खेती विस्तार गरी ३ हजार ७ सय ८ रोपनी जमिनमा अलैंची खेती गर्न सकिने सम्भावना रहेको जनाइएको छ । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार