नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन

काठमाडौँ । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरुले ८ जना चौकीदारलाई हटाउनुपर्ने माग गर्दै नाराबाजी र प्रदर्शन गरेका छन् । करिब पाँच दर्जन कैदीबन्दीहरुले कारगारको सीआरसी ब्लकमा चौकीदारहरुविरुद्ध आइतबार प्रदर्शन गरेपछि कारागारभित्र सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

चौकीदारलााई कारागारको आन्तरिक प्रशासन र कैदीबन्दी व्यवस्थापनको खटनपटन गर्ने जिम्मा दिइएको हुन्छ । रासनमा घोटाला गरेको, टेलिफोन सुविधा सहज नबनाएको, सरकारले दिने अन्य सुविधामा पनि आफ्नो मनोमानी गरेको भन्दै कैदीहरुले चौकीदारहरु विरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका छन् ।

प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको मागसमेत राखेका छन् । विशाल विष्ट नख्खु कारागार मुख्य नाइके हुन् । उनीहरु कर्तव्य ज्यान, लागूऔषध, मानवतस्करी, हातहतियार-खरखजाना लगायतका कसुरमा कारगारमा छन् ।

कारगार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले चौकीदारहरुले हिनामिना गरेको पुष्टि भए तत्काल कारबाही हुने बताउनुभयो । नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले कारागारभित्र नाराबाजी र प्रदर्शन भएको सूचना पाएपछि सुरक्षा तैनाथीलाई बढाइएको बताएकी छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार