नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन

विराटनगर । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।

‘बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं’, समाजवादीका अर्का सांसद राजन राईले भने, ‘आज प्रदेशसभामा दलको नेता चयन र भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने छौं ।’ प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो ।

राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकाले अब असोज ९ गतेभित्र उनले विश्वासको मत लिनुपर्छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा तत्कालिन मुख्यमन्त्री शेरधन राईलाई पदबाट राजीनामा दिन लगाएर भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका थिए ।संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् ।प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार