नेपाली काँग्रेस बेनी नगर सभापतिमा युवा नेता बोगटीको उम्मेद्धारी घोषणा (तस्बिर /भिडिओ सहित)

बेनी । नेपाली कांग्रेस बेनी नगरपालिकाको नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उम्मेद्धारी घोषणा गर्नुभएको छ । बोगटीले शनिबार एक कार्यक्रमका विच ९ असोजमा हुने नगर अधिवेशनमा नगर सभापति पदका लागि उम्मेद्धारी घोषणा गर्नुभएको हो । बोगटी संगै उहाँका समुहका पदाधिकारीहरुले समेत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल,मनकाजी घिमिरे, सचिव ज्ञनेन्द्रकुमार श्रेष्ठ,रणबहादुर शाही,सहसचिव शान्ति शर्मा पौडेल र शानिमाया कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

घोषणा कार्यक्रममा काँग्रेसका पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बानियाँ,नगर सभापति अनोद श्रेष्ठ र हालै मात्र निर्वाचित भएका ९ वटा वडाका वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता थियो । बोगटीको समुहलाई बानियाँको समर्थन छ ।नेपाल विद्यार्थी संघबाट राजनैतिक यात्रा सुरु गर्नुभएका बोगटी प्रखर वक्ता समेत हुनुहून्छ । बेनी नगरपालिका– १, रत्नेचौर निवासी बोगटी २०६५ सालको म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू सभापतिको उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछि बोगटी निरन्तर रुपमा काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । केही वर्ष सञ्चार क्षेत्रमा काम गर्नुभएका बोगटी युवा माँझ लोकप्रिय समेत हुनुहुन्छ ।

(भिडिओ हेर्नुहोस्)

कार्यक्रममा पूर्व सभापति बानियाँले नेपाली काँग्रेसलाई बलियो र संस्थागत रुपबाट सञ्चालन गर्न युवाको नेतृत्व आवश्यक भएको बताउनुभयो । निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको बोगटीले बताउनुभयो । ‘ कांग्रेसमा अहिले डनबाद र धनवाद मौलाउँदै गएको छ ’, उहाँले भन्नुभयो ,‘काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो र संस्थागत रुपमाबाट पार्टी सञ्चालन गर्न आफूनो समुह नेतृत्वका लागि आघि सरेको हो ।’

नगरपालिका वडा नम्बर ७ का सभापति रमेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरसभापति अनोद श्रेष्ठले स्वागत गर्नुभएको थियो । वडा नम्बर ३ का सभापति क्याप्टेन जसबहादुर पुनले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा अधिवेशनमा बेनी नगरपालिकाभित्रका नवनिर्वाचित वडा सभापतिहरुलाई सम्मान गरिएको थियो ।

कांग्रेसको महाधिवेशन अन्तर्गत गाउँ/नगर अधिवेशन असोज ९ ,प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ गते हुँदैछ । भने प्रदेश अधिवेशन कात्तिक १० ,११ र १२ तथा केन्द्रिय महाधिवेन मंसिर ९,१०, ११, १२ र १३ हुने कार्यतालिका रहेको छ । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार