पहिरोले प्रसारण लाइन टावर ढाल्दा ६८.२ मेगावाट उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षका कारण पर्वतमा प्रसारणलाइन टावर ढल्दा ६८.२ मेगावाट बराबरको विद्युत् केन्द्रको उत्पादन बन्द भएको छ ।
पर्वतको जिल्ला सदरमुकाम कुश्मानजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान ढाल्दा यस्तो अवस्था आएको छ ।

मोदी–१ जलविद्युत् आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बरको टावर पहिरोले ढालेको छ ।यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत्गृहको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ । साथै, पर्वत, बागलुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ ।

टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।आतपत्कालीन रूपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युत् सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

“लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुचारु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ,” घिसिङले भने ।कालिगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत् कुश्मा सबस्टेसन हुँदै मोदी–१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ । टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ । मोदी सबस्टेसनबाट स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिन्छ । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार