पुलाचौरमा विविध कार्यक्रमसहित ५९औं नेपाल रेडक्रस दिवस मनाइयो

म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित शनिबार ५९औं नेपाल रेडक्रस दिवस मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा बेनी नगरपालिका -५ पुलाचौरको भीरमुनीमा विविध कार्यक्रमहरुको आयोजना गरेर दिवस मनाइएको हो ।

दिवसको अवसरमा काम गर्ने क्रममा घुँडामा गम्भीर चोट लागेर अहिले पोखराको चरक अस्पतालमा उपचाररत नयाँगाउँका मानबहादुर कार्कीलाई पाँचहजार रुपैयाँ सहयोग गरिएको छ । यसैगरी अविरल वर्षाका कारण घरबास क्षति भएका पुलाडाँडाका भीमबहादुर विकलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरिएको रेडक्रस उपशाखा पुलाचौरका सभापति शिव बानियाँले बताउनुभयो ।

त्यस्तै आगोले शरिर जलेर घाइते भई पुलाचौर स्वास्थ्यचौकीमा उपचाररत भीरमुनी निवासी सन्तु परियारलाई नगद एकहजार पाँचसय रुपैयाँ सहयोग भएको छ । कार्यक्रममा हरितालिका तीज पर्वको पूर्वसन्ध्याको अवसर पारेर रेडक्रसकर्मीलाई दर समेत खुवाइएको थियो । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाअन्तर्गत रहेको विपद् व्यवस्थापन समितिका कोषाध्यक्ष दुर्गाकुमारी बानियाँले दर खुवाउने कार्यक्रमको सम्पूर्ण खर्चको सौजन्य गर्नुभएको थियो ।


दिवसको अवसरमा रेडक्रस उपशाखाको कार्यालय परिसरमा सरसफाई समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य एवं नेपाल कानुन लेखापढी व्यवसायी एशोसियसनका केन्द्रीय समिति सदस्य योगेन्द्र बानियाँले मन्तव्य राख्दै रेडक्रस उपशाखाले उत्कृष्ट कार्य गर्दै गैरहेकाले २५ हजार रुपैयाँको चेक सहयोग हस्तान्तरण गर्नुभयो । सोही कार्यक्रमका विशिष्ट अतिथि सरस्वती माध्यमिक विद्यालय तातोपानीका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं समाजसेवी मिनबहादुर बानियाँले उपशाखाबाट सञ्चालित गतिविधिका बारेमा प्रशंसा गर्नुभएको थियो ।

रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँको अध्यक्षता, उपसभापति मिना शाहीको स्वागत, सचिव रेशमबहाुर बानियाँ र कोषाध्यक्ष गिरेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी गणेश पौडेल, रेडक्रसको कार्यसमिति सदस्य एवं टोल विकास समिति भीरमुनीका अध्यक्ष विरबहादुर खत्री र विपद् व्यवस्थापन समिति कोषाध्यक्ष दुर्गाकुमारी बानियाँले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार