प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागी हुनेले ७५० रुपैयाँ बराबरको खाना खान पाउने भएका छन् । यस्तै उनीहरुले २५० रुपैयाँ बराबरको खाजा खाने भएका छन् ।

सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नै बनाएको छ । २०७७ सालमै बनाइएको यो कार्यविधिमा प्रदेशस्तरीय कार्यक्रमको खर्च तोकिएको छ । जसअनुसार सभाहलभित्र मञ्च व्यवस्थापनका लागि ५० हजार दिइनेछ । खुल्ला चौरमा कार्यक्रमको आयोजना गरिए २ लाखसम्म खर्च गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

दिवा खानामा प्रतिव्यक्ति ७५०, खाजाका लागि प्रतिव्यक्ति २५० रुपैयाँ दिइनेछ । शुभकामना आदानप्रदानको लागि रात्रिकालीन खाना तथा चियापानका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ खर्च गरिनेछ । कार्यक्रम वा उत्सवमा स्थानीय संस्कृति तथा पेशासँग सम्बन्धित झाँकी, नृत्य प्रस्तुत गर्ने प्रतिटोलीलाई २० हजार दिइनेछ भने सम्मान कार्यक्रम गर्दा एक जनाको लागि दोसल्ला, कदर पत्र र सम्मान पत्र बनाउन ३ हजार रुपैयाँ खर्च गरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यक्रम गर्नका लागि विविध शीर्षककामा ७० हजारसम्म खर्च गरिने कार्यविधिमा उल्लेख छ । यसैगरी विविधअन्तर्गत झण्डा, तुल, पानी, चिया, प्रचारप्रसार व्यवस्थापन खर्चलाई कार्यविधिमा समेटिएको छ । कुनै पनि दिवस, कार्यक्रम वा जयन्ती मनाउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीकै संयोजकत्वमा व्यवस्थापन समिति बनाइनेछ । समितिमा सम्बन्धित मन्त्रालयका राज्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सम्बन्धित मन्त्रालयका सचिव सदस्य र सम्बन्धित मन्त्रालयको महाशाखा प्रमुख सदस्य सचिव रहनेछन् ।

दिवस वा कार्यक्रमसम्बन्धी बैठक गर्दा यी पदाधिकारीले प्रचलित कानून बमोजिम कार्यक्रमका लागि विनियोजित बजेटबाट बैठक भत्ता पनि पाउनेछन् ।उक्त समितिले नै मन्त्रालय वा निकायको वार्षिक बजेट तथा कार्यक्रममा भएको दिवस, समारोह जयन्ती समेत मनाउनका लागि स्वीकृति दिँदै कार्यक्रम सञ्चालन गर्नेरगराउने र लाग्ने खर्चको अनुमोदन समेत गर्छन् । प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रदेश २ सरकारले यो कार्यविधि बनाएको छ । कार्यविधिलाई प्रदेश सरकारले आवश्यकता अनुसार संशोधन गर्न सक्नेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार