बेनी नगरपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समीक्षा सुरु गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्नका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले वर्तमान समयमा समुदायस्तरमा पुगेर स्वास्थ्यकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।गएका वर्षहरुको तुलनामा चालु वर्षमा स्वास्थ्यका गतिविधिहरुलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै नगर प्रमुख श्रेष्ठले विगतमा सञ्चालित कार्यक्रम र गरिएका गतिविधिहरुको गहिरोसँग समीक्षा गरेर नयाँ कार्यक्रमलाई सशक्त बनाएर सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय म्याग्दीका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य संस्थाहरुबाट सञ्चालित गतिविधि र त्यसले समुदायमा पारेको प्रभावका बारेमा समीक्षा गर्नुका साथै नयाँ कार्यक्रम लागू गरी सञ्चालन गर्नका लागि विस्तृत रुपमा छलफल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको विशेष उपस्थिति रहेको थियो ।दुई दिनसम्म चल्ने समीक्षा गोष्ठीमा स्थानीय तह भित्रका स्वास्थ्य संस्थाहरुको तुलनात्मक विश्लेषण गर्ने, कार्यक्रम सञ्चालनमा देखिएका कमी, कमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने पक्षहरु पत्ता लगाई लक्ष्य प्राप्तिसम्म पुग्ने मार्ग पहिचान गर्ने उद्देश्य राखिएको छ ।

समीक्षा गोष्ठीको उद्घाटनसत्र बेनी नगरपालिकाका प्रमुख श्रेष्ठको अध्यक्षता र स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो भने अहेव डिल्लीराज आचार्यले गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । बेनी नगरपालिकाभित्र स्वास्थ्यचौकी ७, सहरी स्वास्थ्य केन्द्र ४ र सामुदायिक स्वास्थ्य इकाई एक गरी कुल १२ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेका छन् । गोष्ठीमा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, सुआहारा र वनहार्ट वल्डवाइड कार्यक्रमका प्रतिनिधिको समेत सहभागिता रहेको छ । जिल्लाको गाउँपालिकामा रहेका स्वास्थ्य शाखाले भने यसअघि नै वार्षिक समीक्षा गोष्ठी सञ्चालन गरिसकेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार