बेनी नगरपालिकालाई इसीडी शिक्षक र कर्मचारीको ज्ञापनपत्र (तस्बिर सहित )

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीले विभिन्न माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बेनी नगरपालिका–८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयमा पढाउने बिर्सना चोखालको नेतृत्वमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिका सचिव गणेश परियार लगायत पदाधिकारीहरुले सोमबार संघिय सरकारले घोषणा गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै नगर प्रमुख हरिकुमार श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र शिक्षा अधिकृत अर्जुन पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

संघीय सरकारले तोकेअनुसार साउन महिनादेखि यता आफुहरुले न्युनतम पारिश्रमीक नपाएकोले ज्ञापनपत्र बुझाउन बाध्य भएको विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिकी अध्यक्ष चोखालले बताउनुभयो । नगरपालिकाले संघीय सरकारले तोकेअनुसार ईसीडी शिक्षक र कर्मचारीलाई ७ हजार थपेर उपलब्ध गराउनुपर्ने उहाँको माग छ । ‘पहिलो चरणमा ध्यानाकर्षण स्वरुप नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छौं । यसरी माग पुरा नभए हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौ ,’उहाँले भन्नुभयो, ‘बजेटअनुसार ईसीडी शिक्षक र विद्यालय कर्मचारीले साउनदेखि मासिक १५ हजार पारिश्रमिक पाउनुपर्छ ।’

सरकारले ईसीडी शिक्षकलाई हालसम्म मासिक ६ हजारमात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरेको थियो तर संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख थियो ।

बजेटले नै शिक्षा क्षेत्र र शिक्षकहरूलाई विभेद गरेर अपमान गरेको गलेश्वर माविकी बालविकास शिक्षिका शिला थापाले गुनासो गर्नुभयो । ‘संघिय सरकारले घोषणा गरे अनुसारको स्थानीय तहले थप गर्नुपर्ने तलब बारे नगरपालिकाले कुनै निर्णय नलिएको ,चाडपर्व नजिकै आएको अवस्थामा र माग फारम पेश गर्ने अन्तिम समयमा पनि नगरपालिकाले कुनै निर्णय नलिएपछि शिक्षक र कर्मचारीको संयुक्त अभियानमा ज्ञापनपत्र बुझाउन आएका हौं,’उहाँले भन्नुभयो । शिक्षकलाई राज्यले निजामती कर्मचारीसरह सेवासुविधा उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

बेनी नगरपालिका–५ ,पुरन्डी स्थित सरस्वती आधारभुत विद्यालयमा दश बर्ष सम्म दुई हजार रुपैयाँमा कार्यालय सहयोगीको रुपमा कार्यरत गणेश परियारले आफुहरुलाई राज्यले अपमान गरेको गुनासो गर्नुभयो । ‘दशबर्ष सम्म दुई हजार रुपैयाँ तलबमा विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरेँ ,गर्त बर्ष मात्र तीन कक्षा सम्म अध्यापन गराउन थालेपछि विद्यालयले आन्तरिक श्रोतबाट दुई हजार थप गरेर चार हजार रुपैयाँ पु¥याइदिएको छ ,’ उहाँले भन्नुभयो,‘ चार हजार तलबले अहिलेको जमानामा के नै किन्न सकिन्छ र ? यती थोरै तलबले भोको पेट पाल्न र परिवार पाल्ने कुरा परै जाओस् एक जोर गत्तिलो जुत्ता फेर्न समेत पुग्दैन् । ’

बिगत लामो समयदेखि ईसीडी शिक्षक र कर्मचारीहरुको तलब ज्यादै न्युन रहेको भवानी आधारभुत विद्यालयकी ईसीडी शिक्षिका शान्ति चोखालले बताउनुभयो । नगर प्रमुख हरिकुमार श्रेष्ठले बालविकास सहजकर्ता र कर्मचारीको माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटमा स्थानीय तहले संघिय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदानमा वृद्धि नभएको र संघले स्पष्ट कार्यविधि सहितको निर्देशन समेत नदिएकाले ढिलाई भएको बताउनुभयो । उहाँले संघिय सरकारले बजेट नपठाएपनि नगरपालिकाले आन्तरिक श्रोतबाट भएपनि शिक्षक र कर्मचारीलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउने बताउनुभयो ।

‘संघिय सरकारले तल बृद्धिको घोषाणा ग¥यो तर बजेटको व्यवस्था गरेन् । बजेट घोषणा अनुसारको अन्य शिर्षकहरुमा जसरी सशर्तमा बजेट पठाएको हुन्छ , त्यो ढंगले तपाईहरुको पनि बजेट आउनुपर्ने हो त्यो आएको छैन् । यो आउदैन् ,तपाईहरुले नै बजेटको व्यवस्था गर्नुस् भन्न सकेको छैन् । त्यसैले अलमल भएको हो’, उहाँले भन्नुभयो ,‘ केही समय ढिलाई भयो भनेर चिन्ता नलिनुस् । तपाईहरुले बढेको मासिक तलब सुविधाहरु पाउनुहुनछ ।’कक्षा १ मा भर्ना हुनुअघि एक वर्ष बालबालिकालाई प्रारम्भिक बाल विकास केन्द्रमा सिकाइका लागि ईसीडी शिक्षकले पूर्वअभ्यास गराउनुपर्ने नीति सरकारले लिएको छ । लेखा र कार्यालय सहयोगीका रूपमा विद्यालय कर्मचारी कार्यरत छन् । उनीहरूलाई कतिपय विद्यालयले समेत आन्तरिक स्रोतबाट तलब थप गरेर काममा लगाएका छन् । बेनी नगरपालिका भित्र ५६ वटा सामुदायीक विद्यालय छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार