भोलि बस्ने भनिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही । नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेशसभा बैठक बिहीबार पनि नबस्ने भएको छ । प्रदेशसभाले बुधबार सूचना टाँसेर बिहीबारको बैठक स्थगित भएको जानकारी दिएको हो ।

असोज ७ गते बिहीबार दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ । प्रदेशसभा सचिवालयले बैठक सार्नुको कारण खुलाएको छैन । तर एमालेले सदन चल्न नदिने अडान लिएपछि नै बैठक स्थगित गरिएको स्रोत बताउँछ ।यसअघि भदौ ३१ गते बसेको प्रदेशसभा बैठक एमालेको अवरोधपछि असोज ७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा एमालेले कारबाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमला कुमारी खत्री वलीलाई सभामुखले पदमुक्त नगरेको भन्दै प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै अवरोध गर्दै आएको छ । एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले एमालेले कारबाही गरेका दुई जना प्रदेशसभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान कायम रहेको बताउनुभयो ।

‘हाम्रो सांसदको विषयमा या त अदालतले निर्णय दिन्छ या सभामुखले हटाएको सूचना जारी गर्नुपर्छ, त्यो नभएसम्म हामीले सदन चल्न नदिने अडान कायम छ,’ उहाँले भन्नुभयो। सभामुख पूर्णबहादुर घर्तीले दुई जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतमा विचाराधीन मुद्दामा सदन अवरुद्ध गर्नु संविधान विपरीत भएको बताउनुभयो ।

रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार