माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ ।

मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गर्नुभएको थियो । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

बुधबारको बैठकमा सुझावको सारांशमा संश्लेषण गर्दै अध्यक्ष नेपालले जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताउनुभएको थियो । त्यस्तै बैठकमा अध्यक्ष नेपालले एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप र विकृत बनाएको भन्दै जबजको काम छैन भन्ने अवस्थामा पु¥याएकाले जबजका सारभूत लक्ष्यलाई पक्रँदै जाने बारे प्रस्ट पार्नुभएको थिायो ।

त्यस्तै बैठकले समाजवाद नामक बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ । भोलिको बैठकका लागि कार्यसूची तयार रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ । साथै स्थायी समिति र पोलिटब्यूरो सदस्य समेत भोलिको बैठकले टुङ्गो लगाउने छ ।चुनाव चिन्हमा प्राप्त सुझावका आधारमा निर्णय गरेर निर्वाचन आयोग जाने सो पार्टीले जनाएको छ । सो पार्टीले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार