‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि म्याग्दीका शर्मालाई

बेनी । म्याग्दीका खोमराज शर्माले ‘वर्ल्ड ब्लाइन्ड आइडल’को उपाधि जित्नुभएको छ । जिल्लाको बेनी नगरपालिका–५, डडुवाका दृष्टिविहिन शर्माले चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गरेको प्रतियोगितामा २६ देशबाट सहभागी भएकाहरुलाई पछि पार्दै विश्व दृष्टिविहिन आइडलको उपाधी हात पार्न सफल हुनुभएको हो । विश्वका दृष्टिविहीन बीच हुने यो प्रतिष्पर्धामा नेपालबाट नेपाल नेत्रहीन संघका उपाध्यक्ष रहनुभएका शर्माले आवेदन मार्फत मनोनयनको छनौटमा पर्नुभएको थियो ।

प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्ड लगायतका देशका २६ जना नोमिनेशनमा छनोट भएर प्रतिस्पर्धा गरेका थिए । आइडलका प्रतिस्पर्धीहरुमा अनलाइनमा इमेल मार्फत भएको भोटमा शर्माले ८ हजार दुई ७१ भोट प्राप्त गर्नुभएको छ । इमेलबाट अनलाइन भोटका आधारमा सर्वाधिक भोट पाएर आफु आइडल घोषित भएको बुधबार आयोजक संस्थाको तर्फबाट फोन मार्फत जानकारी प्राप्त भएको शर्माले बताउनुभयो ।

सेप्टेम्बर १० तारिखका दिन पोल्याण्डमा विशेष समारोह आयोजना हुने र उक्त अवसरमा आइडलको उपाधि सहितको पुरस्कार प्रदान गरिने जनाइएको छ । कोरोना महामारीको कारण शर्मालाई अनलाइन मार्फत आइडलको पुरस्कार प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत रहनुभएका शर्माले आफुलाई बिजयी गराउन इमेल मार्फत भोट गर्ने सबैलाई आभार प्रकट गर्दै उपाधिले दृष्टिविहिनहरुको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा र हौसला प्रदान गरेको बताउनुभयो । आफू दृष्टिबिहीन भएतापनि विगत २०५६ सालदेखि नेपाल नेत्रहीन संघका बाग्लुङ, इलाम र कास्की शाखाहरू र केन्द्रको विभिन्न जिम्मेवारीमा रहेर नेपाली दृष्टिबिहीन व्यक्तिहरूको शिक्षा, प्रविधिमा पहुँच, रोजगार र सशक्तिकरणका लागि शर्माले काम गर्दै आउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार