विश्वामित्र सहकारीले ११औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो

बेनी । म्याग्दीको सदरमुकाम बेनीको न्युरोडबाट सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । बुधबार सहकारीको सभाहलमा संहकारीका संस्थापक पदाधिकारीहरुलाई सम्मान, छात्रवृत्ति प्रदान, र राहत वितरण गरी दिवस मनाइएको हो ।

२०६८ साल असोज ६ गते स्थापना भएको सहकारी सफलताका साथ ११औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सहकारीका संस्थापक अध्यक्ष लक्ष्मीकुमारी केसी, उपाध्यक्ष तारा भण्डारी, सचिव कृष्णसिं बानियाँ, कोषाध्यक्ष भावना पौडेल, सहसचिव कमला घर्ती खत्री र ६ जना सदस्यसहित ११ जनालाई सम्मान गरिएको सहकारीका अध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

सहकारीलाई आजको स्थानसम्म ल्याउन संस्थापकहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको अध्यक्ष बानियाँले बताउनुभयो । स्थापना दिवसकै अवसरमा सहकारीको शिक्षा कोषबाट पौलस्त्य मावि भीरमुनीमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रकृति बानियाँलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ । सहकारीका शेयर सदस्य रघुगंगा गाउँपालिका अध्यक्ष समेत रहनुभएका भवबहादुर भण्डारीले एकहजार पाँचसय र सहकारीको शिक्षा कोषबाट दुईहजार पाँचसय रुपैयाँसहित चारहजार प्रदान गरिएको उपाध्यक्ष भोजबहादुर रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीको मानवीय सहायता कोषबाट बेनी नगरपालिका–४, डाँडाखेतका कर्णबहादुर कार्की र बेनपा–१, रत्नेचौरका लालबहादुर किसानको परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यसैगरी बेनपा–६, अर्थुङ्गेका मृगौलापीडित खिम नेपाली र बेनपा–५, पुलाचौरका पहिरोपीडित प्रेम प्रसाईँको परिवारलाई दुईहजार पाँचसयका दरले सहयोग गरेको सहकारीले कल्याणकारी कोषबाट शेयर सदस्य होमदेवी खत्रीका ससुराबुबा शिवप्रसाद भण्डारीको निधन भएकोमा पाँचहजार प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष लक्ष्मी केसीले आफूले जन्माएको संस्था भएकाले सन्ततीको जतिकै माया भएको भन्दै स्थापनाकालमा घर घरमा पुगेर शेयर रकम सङ्कलन गरेको स्मरण गर्नुभयो । उहाँले सहकारीको लोकप्रियता र गरिमालाई जोगाइराख्न नयाँ सञ्चालक समितिलाई योजना बनाएर काम गर्न सुझाव दिनुभयो ।

सहकारीका संस्थापक सचिव एवं पूर्व अध्यक्ष कृष्णसिं बानियाँले सामाजिक, मानवीय सेवा र शैक्षिक क्षेत्रमा सहकारीले गरेका गतिविधिलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार