सम्पत्तिका लागि आफन्तबाटै महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा बगाइयो

काठमाडौँ । ५५ वर्षीया एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापाबाट चार जनालाई पक्राउ गरेको छ। झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला बस्ने धोन्नी टुडुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार छन् । गत भदौ २४ गते धोन्नी टुडुको शव माइखोला किनारमा भेटिएको थियो। टुक्रा–टुक्रा अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार कम्मरभन्दा माथि र घुँडाभन्दा मुनिको भाग भएको शव खोलामा भेटिएको थियो । अनुसन्धान गर्दै जाँदा उनीहरूले मिलेर हत्या गरेको पाइएको भट्टराईले बताउनुभयो।

चारै जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। प्रहरीका अनुसार धोन्नीका छोराछोरी थिएनन्। उनका श्रीमानको पनि केही समयअघि मृत्यु भएको थियो । उनकी सौताले विभिन्न आरोप लगाएर उनीमाथि हिंसा गर्ने गरेकी थिइन्। उनी र उनका देवरसँग जग्गासम्बन्धी विवाद रहेको थाहा भएको छ। माइती आएको बेला धोन्नीको हत्या योजना बनाइएको र भदौ २४ गते राति घरैबाट लगेर माइखोलामा हत्या गरेर फालिएको भट्टराईले बताउनुभयो।

पक्राउ परेका लखन धोन्नीका सौताका भाइ रहेको खुलेको भट्टराईले बताउनुभयो। अन्य तीन जनाले हत्यामा लखनलाई सघाएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोप लागेका धोन्नीका सौताका भाइ मण्डल हेमरम सतार भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार