सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्र स्तरीय साधारणसभा

बेनी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी सदस्य सेवा केन्द्रको आइतबार म्याग्दीको सदरमुकाम बेनीमा साधारणसभा सम्पन्न भएको छ । संस्थाको १२औं वार्षिक साधारण सभाको अवसरमा सेवा केन्द्रस्तरीय विस्तारित मञ्च तथा साधारण सभाको शुभारम्भ कार्यक्रम गरिएको हो ।

बेनीमा स्थापना भएको सेवा केन्द्रको हालसम्म कुल ५ सय १७ जना शेयर सदस्य रहेका छन्भने १७ जना बाल बचतकर्ता रहेको केन्द्रले जनाएको छ । यसैगरी केन्द्रको कुल पुँजी एक करोड ६० लाख नौहजार छ सय, निक्षेप सङ्कलन तीन करोड ६६ लाख २१ हजार तीनसय २२ र ऋण लगानी ३९ लाख २९ हजार सातसय ९९ सय रुपैयाँ रहेको छ । यसैगरी तरलता एक करोड ७० लाख १७ हजार सातसय १९ र कुल सम्पत्ति छ करोड ७६ लाख ३५ हजार दुईसय २७ रुपैयाँ रहेको सेवा केन्द्रका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)ले बताउनुभयो ।

सेवा केन्द्रस्तरीय साधारण सभाको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं संविधान सभा सदस्य नवराज शर्माले सहकारी संघसंस्थाहरु समृद्धिको यात्रामा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले बैंङ्किङ क्षेत्रसँगै अब सहकारीहरु पनि प्रतिसर््पर्धामा आउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक, व्यावसायिक र लघुउद्यमका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । साधारणसभामा संस्थाका परामर्शदाताद्वय सन्तोष रावल, दिपेन्द्र श्रेष्ठ र शेयर सदस्य देवी जिसीले मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा संस्थाका सचिव मदन सुवेदीले प्रगति र कोषाध्यक्ष माधव आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बेनी सेवा केन्द्रका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)को अध्यक्षता, सहससंयोजक भीमबहादुर श्रेष्ठको स्वागत र सचिव मदन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार