इन्धनको भाउ आकाशिएसँगै विश्वका ठूला अर्थतन्त्र तनावमा

काठमाडौं‌ । कोरोना महामारीबाट थलाथला परेको विश्व अर्थतन्त्रसामु नयाँ संकट देखिन थालेको छ । महामारीको असरबाट तंग्रिने प्रयास गरिरहेका मुलुकसामु अघिल्लो हप्ता एउटा नयाँ संकट देखा पर्‍यो । विश्व बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य आकाशिन थालेपछि यस्तो संकट देखा परेको हो ।

अघिल्लो हप्ता कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८० डलर पुगेको थियो । पछिल्लो समय युरोपमा इन्धनको मूल्य १० प्रतिशतले बढेको छ । हिउँद नजिँकिदै गर्दा ग्यासको मूल्य ह्वात्तै बढेपछि युरोपेली उपभोक्ताहरु चिन्तित हुन थालेका छन् । एसियाका प्रमुख अर्थतन्त्र चीन र भारतमा समेत इन्धनको मूल्य बढिरहेको छ । भारतले देशभित्र खपत हुने कुल इन्धनमध्ये ८० प्रतिशत बाहिरबाट आयात गर्छ ।

तर इन्धन खपत हुने महत्वपूर्ण बजारमा केही समयदेखि पेट्रोल र डिजेलको मूल्य आकाशिन पुगेको छ । भारतीय बजारमा शुक्रबार पेट्रोल र डिजेलको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । आर्थिक राजधानी मानिने मुम्बईमा पेट्रोलको मूल्य बढेर प्रतिलिटर झण्डै १०८ भारु पुगेको थियो भने डिजेलको मूल्य प्रतिलिटर ९७.८४ पुगेको थियो ।

चीन सरकारले कार्बन उत्सर्जन नियन्त्रणका लागि हालै चालेको कदमले समेत विश्व इन्धन बजारमा असर पार्न थालेको छ । चीन विश्वमा सबैभन्दा धेरै इन्धन खपत हुने मुलुक हो । तर आगामी वर्ष हुन गइरहेको हिउँदे ओलम्पिकपूर्व वायु प्रदूषण कम गर्न भन्दै चीनका कैयौं ‘पावर प्लान्ट’ बन्द गरिएको छ । चीनमा ऊर्जा कटौती र इन्धनको कोटा निर्धारण हुँदा मानिसहरुले दशकपछिकै खराब इन्धन अभावको सामना गरिरहेका छन् ।

उद्योग बन्द गरिएको छ भने ट्राफिक लाइट र थ्रीजी नेटवर्क काटिएको छ । झण्डै २० शहर आकाशिँदो मूल्य, उच्च माग र कोइलाको अभावबाट प्रभावित बनेका छन् । यसबाहेक टाट पल्टिन लागेको चिनियाँ घरजग्गा कम्पनी एभरग्रान्डेसामु देखिएको संकटपछि चीनले तेल आयात घटाउन सक्ने र यसबाट विश्व तेल बजारमा उथलपुथल आउने चिन्ता व्यक्त भइरहेको छ । पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक)ले समेत आगामी केही वर्ष तेलको माग निकै बढ्ने बताइसकेको छ ।

कोभिड महामारीको असरबाट अर्थतन्त्र तंग्रिँदै जाँदा तेलको माग बढ्ने ओपेकको भनाइ छ । यसैबीच बैंक अफ अमेरिकाले तेलको मूल्य अझै बढ्न सक्ने जनाएको छ । बैंकले केही महिनाभित्रै तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुग्ने अनुमान गरेको हो । ग्यासको मूल्य बढिरहेको अवस्था र नजिकिँदै गरेको हिउँदका कारण अर्को आर्थिक संकट देखिन सक्ने समेत बैंकको भनाइ छ । विज्ञहरुले समेत इन्धनको मूल्य थप बढ्न सक्ने र उच्च मुद्रास्फीतिको दबाबले अर्को विश्वव्यापी आर्थिक संकट निम्तिन सक्ने चेतावनी दिएको ब्लूमबर्गले जनाएको छ ।

ग्यासको मूल्य बढेसँगै मानिसहरु तेलतिर लाग्ने भएकाले विश्व बजारमा यसको माग ह्वात्तै बढ्ने पनि उनीहरुको भनाइ छ । यस पटकको हिउँद थप चिसो हुने अपेक्षाबीच इन्धनको माग बढ्ने र फलस्वरुप मूल्य वृद्धि हुने अनुमान समेत गरिएको छ । साथै, अन्तर्राष्ट्रिय हवाई उडान पुनस् सुचारु हुन थालेपछि हवाई इन्धनको माग बढ्ने पनि प्रक्षेपण गरिएको छ । ‘यदि सबै तत्वहरु एकसाथ मिसिन पुगे भने तेलको मूल्य ह्वात्तै बढ्ने छ र विश्वभर मूल्यस्फीतिको दबाबको दोस्रो चरण शुरु हुनेछ,’ विज्ञहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ, ‘यसलाई अर्को शब्दमा भन्दा हामीहरुमाझ एउटा ठूलो आँधीबेहरी केही समयमै आउनेछ ।’ एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार