दशैं आयो, भत्ता आएन

सुर्खेत । राउटे समुदायका लागि अघिल्लो वर्षको दशैं विशेष रह्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दशैंको तीन दिनअघि चिंगाड गाउँपालिकाको सल्लेरीस्थित राउटे बस्तीमा पुग्नुभयो । त्यहाँ उहाँले राउटेलाई मासु–भात मात्रै खुवाएनन्, प्रदेश सरकारबाट मासिक दुई हजार भत्ता दिने घोषणा गर्नुभयो। संघीय सरकारबाट तीन हजार भत्ता पाउँदै आएका राउटे समुदायमा प्रदेश सरकारबाट दुई हजार थप भत्ता पाउँदाको खुसी बेग्लै थियो।

यो वर्ष दशैं नजिकिँदै जाँदा राउटे समुदाय सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ स्थित घाटगाउँमा सरेको छ। तीन महिनादेखि राउटे समुदायले मासिक भत्ता पाएको छैन्। राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन् । केहीले उधारोमा खशी ल्याएका छन्। ‘औंशी आइसक्यो, भत्ता आइपुगेन्,’ मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, ‘कसरी दशैं मनाउने हो चिन्तामा छौं।’

राउटे समुदायका लागि दशैं सबैभन्दा ठूलो पर्व हो। दशैंको अघिल्लो दिन हरेक घरले बलि दिनुपर्ने मान्यता यो समुदायमा छ। औशीपछि यो समुदाय बस्तीमा खशी भित्र्याउँदैन्। महिना–महिनामा पाउनुपर्ने भत्ता तीन महिनासम्म नपाउँदा यो समुदाय सरकारसँग आक्रोशित छ। वीरबहादुर शाही राउटे समुदायका तीन जना मुखिया मध्ये एक हुन्। उनको आठ जनाको परिवार छ।

सरकारले भत्ता दिएको भए उनीसँग तीन महिनाको एक लाख ४४ हजार रुपैयाँ हुन्थ्यो। सरकारले भत्ता दिएको भए छाप्रोमा खशी हुन्थे, दशैंका लागि चिल्ला रोटी पकाउने सामाग्रीहरु तयारी अवस्थामा हुन्थे। भत्ता नपाउँदा यो वर्षको दशैं उनका लागि ‘दशा’ आएजस्तै भएको छ। ‘मुखियाकै छाप्रोमा खशी छैन्, जनताले कहाँबाट पाउनु ? ,’ उनले भने, ‘हामीमाथि सरकारले यतिधेरै अन्याय त नगरेको भए हुन्थ्यो।’

राउटे बस्तीकै चन्द्रमान शाहीको पनि अवस्था वीरबहादुरको जस्तै छ। उनको पनि आठ जनाको परिवार छ। भत्ता ल्याएर सरकारी मानिस आउँछन् कि भन्ने आशमा राउटेहरु नजिकैको सल्लीबजारमा गएर बस्छन्। नयाँ मानिस देख्यो कि भत्ताका बारेमा सोध्छन्। ‘केहीले उधारोमा गाउँबाट खशी ल्याएका छन्,’ चन्द्रमानले भने, ‘हामीलाई कसैले पत्याएनन्, सरकारले भत्ता दिएनन्, गाउँलेले खशी दिएनन्।’

राउटे समुदायका ४४ वटा घर छन्। एक सय ४४ संख्या छ। जंगलमा फिरन्ते जीवन विताउने यो समुदाय काठका भाँडावर्तन बनाएर विक्री गर्दथ्यो। त्यसैको आम्दानीले परिवार पाल्थ्यो। सरकारले २०६४ सालदेखि राउटेलाई भत्ता दिन सुरु ग¥यो। त्यो अघिसम्म राउटे समुदाय पैसा छोए पाप लाग्छ भन्थ्यो। खाटवापत खशी लिन्थे। अन्य काठका सामाग्रीवापत अन्न साँट्थे।

पछिल्लो समय राउटे समुदायलाई कारोनाले पनि असर गरेको छ। बस्तीमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएपनि जंगलमा काठ काट्न र गाउँ–बजारसम्म ति सामाग्रीहरु विक्री गर्न प्रतिवन्धजस्तै छ। ‘पहिले–पहिले रुखहरु काट्थ्यौं, त्यसैबाट सामाग्रीहरु बनाएर गुजारा चलाउँथ्यौं,’ महामुखिया महिनबहादुर शाहीले भने, ‘अहिले कोरोनाले जंगल जान पाउँदैनौं, त्यसैले काठका भाँडावर्तन बनाउन पाएका छैनौं।’ राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिकाको अस्थायी नागरिक हो। संघीय र प्रदेश सरकारले दिने भत्ता गुराँस गाउँपालिकामार्फत वितरण हुन्छ। गाउँपालिकाले अहिलेसम्म भत्ता निकासा गरेको छैन्।

खाद्यान्न सहयोग

दशैंको मुखमा राउटे समुदायलाई विहान–बेलुकाको छाक टार्न समस्या भइरहेको खवर पाएपछि ललितपुरका विएन ठकुरीले बस्तीमै पुगेर राउटे समुदायलाई खाद्यान्न वितरण गरेका छन्। ठकुरीले ४४ घर परिवारलाई एक–एक बोरा चामल, दुई–दुई प्याकेट नुन र तेलका साथै खुर्सानी वितरण गरे। उनले जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदाय साँच्चै समस्यामा रहेको बताए। ‘दशैं आयो, शरिरमा नयाँ लुगा छैन्, छाप्रोमा अन्न छैन्,’ उनले भने, ‘लोपोन्मुख समुदायलाई सहयोगको खाँचो छ।’ nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार