‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री

काठमाडौँ । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री नारायण खड्का आज स्वदेश फर्किनुभएको छ।गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गर्नुभएके थियो।

बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो। स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री खड्काले बताउनुभयो।

असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्र मन्त्री खड्काले असोज २५ गते सम्बोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रूपमा आवाज उठाएको जानकारी दिनुभयो।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य संकट र कोभिड-१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताउनुभयो। साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रूपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रूपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,’सम्बोधनको क्रममा मैले संख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरूरी भएको औंल्याएको छु।’ साथै, सम्मेलनमा बहुपक्षीय संस्थाहरू जस्तै संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय वित्तीय संस्थाहरूको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री खड्काको भनाइ छ।

त्यसैगरी उनले बैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरूबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिनुभयो। मन्त्री खड्काले भने,’असंलग्न सदस्य राष्ट्रहरूबीचको एकता, सहयोग र समन्वयले त्यसका सदस्य राष्ट्रहरूले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरूरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरूको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरूरी रहेको छु।’

उनले आन्दोलनलाई त्यसका सदस्यलगायत सबैले आ-आफ्नो स्थानबाट उपयुक्त सहयोग गरिदिन र भावी पुस्ताको लागि शान्त र समृद्ध विश्व समाजको निर्माण गर्न बैठकमार्फत् सबैलाई अपिल गरेको बताउनुभयो। उक्त बैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटबाटहरु नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री खड्काको भनाइ छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार