नेपाली राष्ट्रिय फुटबल टिमको बान्डोस टापुमा दसैं

माले, माल्दिभ्स । खेलाडी भएपछि दसैं घरमै मनाऔं भन्ने अवसर पनि नजुट्ने रहेछ । प्रतियोगिता र त्यसको तयारीले दसैं टिमसँगै मनाइएका अनेक उदाहरण छन् । परिवारबाट टाढा रहनुले मन पक्कै केही खिन्न हुँदो हो, तर त्यसको मज्जा पनि त छ, अनि यो कम्ती दुर्लभ छैन पनि ।यस्तै यस्तै अनुभवबाट गुज्रनेछन्, गुज्रिरहेका छन्, नेपाली राष्ट्रिय फुटबल टिम । माल्दिभ्सको मालेमा साफ च्याम्पियनसिप २०२१ चलिरहेको छ र टिम यतै छ ।

टिम आफैं भने मालेबाट दस किलोमिटर जति टाढा रहेको बान्डोस टापुमा छ, त्यसैले यसपल्टको पर्व हुनेछ, ‘बान्डोस टापुको दसैं’ । केही फुटबल पदाधिकारी र पत्रकार भने मालेमै छन्  । कोभिड– १९ को सजगताका कारण टिमले बाहिरबाट आएका कसैलाई भेट्ने अवसर पनि दिइएको छैन । टिम माले आउँछ, खेल्छ र फेरि खुरुखुरु बान्डोस टापु फर्कन्छ । अहिलेसम्म यही स्थिति रहेको छ । मालेमा रहेका पदाधिकारी र पत्रकार सोमबार त्यस टापुको नजिकसम्म भने पुगे ।

तर भित्र जान पाएनन् । टापुबाट केही खेलाडी र पदाधिकारीले फेरीमा सवार समूहको अभिवादन स्विकारे । सन्चो, बिसन्चो सोधे र फेरीले अर्कै बाटो तय गर्‍यो । खेलाडी र तिनीहरूसँग रहेका पदाधिकारीलाई गुनासो छ, कतै कहीं जान पाइएको छैन । तर यही गुनासोबीच पनि दसैं मनाउने तयारी भने जोडतोडले चलिरहेको छ । विशेषतः टीकाको दिन सबैले पर्खिरहेका छन् । यसका लागि जोडजाड गर्ने काम भने टिमका व्यवस्थापक मधुसूदन उपाध्यायले गरिरहेका छन् । उनीसँग दसैं टिमसँगै मनाएको अर्को अनुभव पनि छ ।

दुई वर्ष अगाडि दसैंकै बेला नेपाली टिम अस्ट्रेलियामा थियो, विश्वकप छनोट खेल्ने क्रममा । त्यति बेला पनि रमाइलो नै भएको थियो । कोभिड–१९ को समस्या थिएन, त्यसैले कोही कसैलाई भेट्न सजिलै सकिन्थ्यो ।त्यसैले अस्ट्रेलियामा रहेका केही नेपालीसँगै दसैं मिनाउने काम भएको थियो । यसपल्ट भने साफ च्याम्पिनसिपले यस्तै अवसर जुराएको छ । तर दसैं मनाउने तरिका भने पक्कै फरक हुनेछ ।

प्रतियोगिता दसैंकै बेला परेको छ, त्यो त सबैलाई पहिलेदेखि नै थाहा थियो, त्यसैले व्यवस्थापक उपाध्यायले काठमाडौंमा छँदै पूरा तयारी गरेका थिए । त्यहाँबाटै चाहिने सबथोक माल्दिभ्स ल्याए, त्यसैले त उनले बान्डोस टापुको आफूहरू बसेको होटलको एउटा कोठामा जमरा रोपेका छन् र अहिले त्यो सरक्क बढेको पनि छ ।टीका थाप्दा अक्षेता र अबिर पनि त चाहियो, त्यो पनि उनले काठमाडौंबाट ल्याएका छन् । अनि उनी नरिवल फोड्ने तर्खरमा छन् । आखिर माल्दिभ्स नरिवल पाइने देश पनि त हो ।

नेपाली टिममा रहेका खेलाडी र पदाधिकारीमध्ये सबैभन्दा जेठा हुन्, रवीन्द्र श्रेष्ठ । संयोगले उनी दुई वर्ष अगाडि अस्ट्रेलियामा पनि थिए । अहिले पनि छन् । यिनै श्रेष्ठसँग टीक थाप्ने कार्यक्रम छ ।व्यवस्थापक उपाध्यायलाई के लाग्छ, भने परिवारसँग दसैं मनाउनुको मज्जा र अर्थ बेग्लै छ । तर सबै त्यति भाग्यमानी पनि हुँदैनन्, जसले खेलाडीसँग दसैं मनाउने अवसर विदेशमा पाउँछन्, नेपालबाट टाढाटाढा ।

अनौपचारिक कुराकानीमै सही, नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण लिम्बू भन्थे, परिवारसँग दसैं मनाउन नपाउँदा मन खल्लो त हुन्छ नै । उनी भन्थे, ‘तर आफू पर्‍यो, खेलाडी मान्छे । खेलाडीका लागि त देशको लागि खेल्नु नै ठूलो हो नि, होइन र रु’ हो नै ।पक्कै पनि ‘बान्डोस टापुको दसैं’ विशेष हुनेछ । त्यो अझ विशेष हुनेछ, जति बेला नेपालले प्रतियोगिताको फाइनल खेल्ने निश्चित हुनेछ । सबै खेलाडी यस्तै कामना गरिरहेका छन् र यसका लागि चाहिनेछ, सबै फुटबलप्रेमीको आशीर्वाद र माया । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार