बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन (भिडिओ सहित)

बेनी । नेपालीहरुको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर आइतबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बेनीमा सञ्चालित विभिन्न प्रकृतिका १२ वटा पसलको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।

भिडिओ हेर्नुहोस्…

अनुगमनका क्रममा ९ वटा किराना तथा खाद्यान्न, २ वटा मासु पसल र एकवटा मेडिकल पसल (क्लिनीक)को अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले जनाएको छ । अनुगमन टोलीले पसलहरुमा राखेका दैनिक उपभोग्य सामानमा गुणस्तरीय भए नभएको, म्याद रहेको वा गुुज्रिएको, पसल दर्ता तथा नवीकरण गरे नगरेको, मूल्यसुची राखे, नराखेका जस्ता विषयमा चेकजाँच गरेको थियो ।

अनुगमन गरिएका अधिकांश पसलहरु खुद्रामा दर्ता गरेर होलसेलमा कारोबार गर्ने गरेको पाइएको, अन्तः शुल्कको इजाजत नलिई मदिराजन्य पदार्थ बिक्री वितरण र केही पसलमा म्याद गुज्रिएका सामानहरु भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले बताउनुभयो । अनुगमन टोलीले बेनीको न्युरोड, क्याम्पसचोक, पिपलचोक र कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित पसलहरुको अनुगमन गरेको थियो ।

सदरमुकामस्थित बेनीबजारको पाण्डे मेडिकल हल, न्यु शर्मा किराना पसल, जालपा इन्टरप्राईजेज, सुरेश मासु पसल, एन्जिला मासु पसल, बिक्की एण्ड ब्रदर्श, सुरज स्टोर्स, सुवेदी किराना तरकारी तथा फलफुल पसल र अपिस किराना पसलसहित १२ वटा पसलहरुमा स्थलगत अनुगमन गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । यसैबीच बालमन्दिर आधारभूत विद्यालय कालीपुलस्थित विद्यालयको भवन भाडामा लिई सटरमा पसल सञ्चालन गरेका तीनवटा पसलमा मदिरा तथा सुर्तिजन्य (चुरोट, रक्सी र सुर्ति)को बिक्री वितरण गरेको पाइएको छ ।

म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बजार अनुगमन नियमित हुने कार्य भएको बताउँदै प्रशासनको नेतृत्वमा सरोकारवाला निकायसहितको सहभागितामा अनुगमन गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा केही पसलहरुले आफ्नो सीमा क्षेत्रभन्दा बाहिर सडक तथा पेटीमा समेत ठूलो मात्रामा सामानहरु राखेर बिक्री वितरण गर्ने गरेको पाइएको भन्दै व्यापारीलाई सचेत गराइएको हुँदा आगामी दिनमा यस्तो कार्य गरेको पाइएमा प्रक्रियामा गएर नियमअनुसार आवश्यक कारवाही गरिने बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार