मध्यपहाडी राजमार्गको काम ९५ प्रतिशत सकियो

कास्की । राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ।

ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दाबी गरिएको छ।फेदीदेखि घट्टेखोलासम्मको दुई किमी सडकबाहेक अन्य सबै स्थानमा ‘अस्फाल्ट’ कालोपत्र सकिएको छ।सो स्थानमा कालोपत्रका लागि सबै काम तयारी अवस्थामा रहेको बताइन्छ। कालोपत्रपछि अहिले रोड मार्किङ लगायतका काम जारी छ।याम्दीदेखि सुइखेतसम्म छ किमी र सुइखेतदेखि घट्टेखोला छ किमी २०० मिटर गरी दुई खण्डमा ठेक्का सम्झौता गरेर काम सुरू गरिएको थियो।

सो सडकको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाका इञ्जिनियर अनन्त बरालले जानकारी दिए। सुरूआतमा विद्युत पोल र खानेपानीको पाइपको स्थानान्तरणको प्राविधिक समस्याले ढिलाइ भएको र पछि कोरोनाका कारणले आयोजना प्रभावित भएर तीन पटकसम्म म्याद थप गरिएको उनले बताए।

आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरूमा लामो समय काम प्रभावित भएको दाबी आयोजनाको छ।इञ्जिनियर बरालले भने, ‘सरकारले पछिल्लो पटक कोरोनाका कारण प्रभावित आयोजनाका लागि चैतसम्मको म्याद थप गरेको छ। तर यस आयोजनाको बाँकी काम त्यसभन्दा अघि नै ढिलोमा माघभित्रमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम गरेका छ।’

असोजदेखि बाँकी रहेको स्थानमा कालोपत्र गर्ने योजना रहेपनि नियमितजस्तो वर्षा भएकाले काम सुरू गर्न नसकिएको बताइन्छ। सडकको ‘मेडियन’का कारण सडकमा पानी आउँदा सडक छिट्टै जीर्ण हुने भएकाले अहिले मेडियनको ढलानको काम भइरहेको छ।त्यसबाहेक सडक सौन्दर्यकरणको कामसमेत चालू रहेको इञ्जिनियर बरालले बताए। वि.सं २०७६ असोज मसान्तभित्रमा सम्पन्न गर्ने गरी विसं २०७४ भदौमा आयोजनाको ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीको ढिलासुस्तीका कारणले काममा ढिलाइ भएको गुनासो स्थानीयबासीले गर्ने गरेका थिए। विगतमा बर्खायाममा हिलो र हिउँदमा धुलोले लामो समय प्रभावित बनेका सर्वसाधारण अहिले भने फराकिलो चिल्लो कालोपत्र सडक बनेपछि उत्साहित बनेका छन्।सो खण्ड ३० मिटर फराकिलो छ। निर्माण कार्य तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि विसं २०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको थियो।

‘गत आर्थिक वर्षको असारभित्रमा आयोजनाको सबै काम सम्पन्न गर्ने लक्ष्य थियो,’ इञ्जिनियर बरालले भने, ‘तराईका जिल्लामा लकडाउनमा कडाइले निर्माण सामग्री र विटुमिन समयमै ल्याउन सकिएन, यस वर्ष अर्लि मनसुनका कारणबाट पनि आयोजना निर्धारित समयमा पूर्णता पाउन सकेन।’राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको राजमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वतरसीमाना नयाँपुलसम्म ३७ किमी पर्दछ। जसमा घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भएको छ।

जिल्लाको पूर्वी खण्डको भैंसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ अझै निश्चित भएको छैन।आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार