वडा अध्यक्षको कुटाइबाट युवक गम्भीर घाइते

सप्तरी । रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ वर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको विषयमा बसेको ‘पञ्चायती’ मा वडा अध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुनेगरि कुटपिट गरेका हुन् ।

वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा बोलाएर निर्घात कुटपिट गरेको स्थानीयले बताएका छन् । वडा अध्यक्षसहितका पाँच जनाको समूहले युवकलाई मरनासन्न हुनेगरी कुटपिट गरेको स्थानीय राजु जयसवालले बताए । कुटपिटबाट युवक गम्भीर घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा सबैजना भागेको जयसवालले जानकारी दिए । घाइते युवकको राजविराजको गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल उपचार भइरहेको छ । सप्तरीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले पनि घटनाबारे प्रहरीलाई जानकारी आएको बताए । उनले पीडितबाट जाहेरी आइनसकेको बताउँदै जाहेरी आउन साथ घटनामा संलग्नहरूमाथि कारबाही हुने बताए ।

वडा अध्यक्ष यादवले भने आफूले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए । महिलालाई भगाएर ल्याएको विषयमा गाउँमा छलफल बस्दा समाजमाथि अश्लिल शब्द प्रयोग गर्दा छलफलमा बसेका केही व्यक्तिबीच सामान्य घम्साघम्सी मात्र भएको उनले बताए । युवक आफैँ लागुऔषध सेवन गरेर बेहोश भएको अध्यक्ष यादवले बताए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार