विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश

काठमाडौँ । नेपालबाट वर्षाको बिजुली लिन र हिउँदमा दिनका लागि भारत सकारात्मक देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले भदौ अन्तिम साता बिहार स्टेट पावर होल्डिङसँग पारस्पारिक मौसमी विद्युत् आदान–प्रदानको लागि प्रस्ताव गरेकोमा भारत सकारात्मक देखिएको छ । प्रस्ताव गरेलगत्तै बिहारले प्रारम्भिक चरणमा वर्र्षामा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मको बिजुली लिने तथा वर्षामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिन तयार उल्लेख गर्दै प्राधिकरणलाई सन्देश पठाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वर्षामा बढी भएको बिजुली लिन तथा हिउँदमा पठाउने गरी बिहारले सकारात्मक प्रस्ताव पठाएको बताउनुभयो। “हामीले वर्र्षामा खेर जाने बिजुली लिन तथा खाँचो परेको हिउँदको बेलामा दिने गरी विद्युत् आदानप्रदानको प्रस्ताव गरेका थियौ, भारतबाट सकारात्मक सन्देश आएको छ” उहाँले भन्नुभयो ।

असोज अन्तिम साता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सञ्जिव हान्सलाई भारतको पटनामा भेटी विद्युत् आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिव ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने प्रस्ताव प्राधिकरणको थियो ।विद्युत् प्राधिकरणले चालु वर्षमा मात्र १९६० गिगावाट आवर बिजुली खपत गरेर बढी हुने जनाएको छ ।

घिसिङले दैनिक चार करोड बराबरको खेर गइरहेको जनाएको छ । प्राधिकरणले चालु वर्षमा अधिकत्तम १६७१ मेगावाट माग पुग्ने तथा आगामी वर्ष १८३९ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ ।६१७६ मेगावाटका ३४६ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको तथा ३ हजार मेगावाट बराबरका १३६ आयोजना निर्माणाधीन रहेको जानकारी दिँदै प्राधिकरणले १३२ केभीको कटैया–कुसाहा, रामनगर गण्डक र रक्सौल पववानीपुरसहित अन्य ३३ केभीबाट ३ सय ७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने प्राधिकरणले छलफलमा जानकारी दिएको थियो । बिहार नेपालको बिजुली वर्र्षामा लिन र हिउँदमा दिन सकारात्मक भएपनि यसको टुंगो भने लागिसकेको छैन ।karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार