कार्यसूची प्रवेश गरी कर्णाली प्रदेश सभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मंगलबारको प्रदेश सभा बैठक कार्यसूची प्रवेश गरी स्थगित गरिएको छ।मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल सहभागी हुन नसकेपछि स्थगित गरिएको हो।

मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिन गरेको आह्वानसँगै बैठक बुधबार दिउँसो १ बजेका लागि स्थगित गरिएको हो।त्यसअघि सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको नियुक्ति, मन्त्रालयको जिम्मेवारी बाँडफाँट र प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको अधिवेशनका बारेमा पढेर सुनाएका थिए।

मुख्यमन्त्री शाहीले अब भोलिमात्र विश्वासको मत लिने भएका छन्।प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता यामलाल कँडेलसहितका सांसदहरू एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवनमा भएकाले आजको प्रदेश सभा बैठकमा सहभागी नभएका हुन्।भोलिको बैठकमा एमालेलाई उपस्थित हुन आग्रह गरिएकोले भोलिमात्र विश्वासको मत लिइने कांग्रेस प्रदेश सभा दलका सचेतक हिमबहादुर शाहीले बताए।

भोलि मुख्यमन्त्रीले विश्वासको मत लिनैपर्ने छ। कात्तिक १६ गते कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको भोलि ३० दिन पुग्दै छ।संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्छ। कर्णालीका मुख्यमन्त्री शाहीले आफूले विश्वासको मत लिइसकेपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने योजना बनाएका छन्। ८ सदस्यीय मन्त्रिपरिषदमा अहिले मुख्यमन्त्री र एक जना कृषि मन्त्री मात्र छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार