दिदीबहिनी सहकारीको १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन, अध्यक्षमा पुनः लामिछाने निर्वाचित

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १०औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः ज्योती लामिछानेको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, सहसचिवमा अम्बिका श्रेष्ठ र कोषाध्यक्षमा जगतकुमारी खत्री निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा कमला खत्री, अन्जना हमाल केसी, रजनी कर्माचार्य, जयन्ती रेग्मी सुवेदी, पुष्पा थापा, अनुषा श्रेष्ठ, अम्बिका ढुङ्गाना र रञ्जिता भट्टचन निर्वाचित भएको दिदीबहिनी सहकारीले जनाएको छ ।

त्यस्तै लेखा समिति संयोजकमा शारदा शर्मा, सदस्यमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल चयन हुनुभएको छ भने ऋण उपसमिति संयोजक अम्बिका श्रेष्ठ, शिक्षा उपसमिति संयोजकमा अन्जना हमाल र कर्जा असुली समितिको संयोजकमा कमला खत्री चयन हुनुभएको छ । साधारणसभाको अवसरमा सहकारीले सञ्चालन गरेको मुठ्ठीदान हस्तान्तरण कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–४, सिङ्गाकी सुस्मिता गुरुङलार्ई खाद्यान्न सामग्री सहयोग गरिएको छ भने बेनपा–५, पुलाचौरकी हिंसापीडित महिलालाई ११ हजार एकसय ११ र पर्वतको जलजला–७, धाईरिङको मिर्गौलापीडित विश्व परियारलाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँ वितरण गरिएको छ ।

संस्थाले साधारणसभाको अवसरमा साधारण बचततर्फ गीता सुवेदी, लखपति बचततर्फ सारिका लामा, पेन्सन बचततर्फ जमुना आचार्य, बाल बचततर्फ प्रियान्सी सापकोटा, सुनौलो बचततर्फ अभिनेश श्रेष्ठ, आवधिक बचततर्फ सुगम श्रेष्ठ, पर्व बचततर्फ श्वेता श्रेष्ठ र क्रमिक बचततर्फ रजिता गौतमलाई सम्मान गरेको छ । त्यसैगरी संस्थामा सर्वाधिक हाँजिरीतर्फ लक्ष्मी भण्डारी कार्की, असल ऋणी पूर्णबहादुर पुन, उत्कृष्ट कारोबारकर्ता कोपिला नेपाली, एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्य जानकी शर्माको छोरा आयुष शर्मा र सञ्चालक समिति सदस्य कमला खत्रीको छोरी सुुशिष्टा जिसीलाई पनि सम्मान गरिएको छ ।

संस्थाले एकल महिला प्रोत्साहन कार्यक्रमतर्फ निर्मला श्रेष्ठ, हिराकुमारी शर्मा, प्रभा आचार्य, कमला गिरी, खरमाया पुन पूर्जा, हेमकुमारी पौडेल, लक्ष्मी चोखाल, रेनुदेवी मल्ल, विश्वकुमारी शेरचन, हरिमाया रावल, पदमकुमारी श्रेष्ठ, रमा गिरी, कमला कर्माचार्य, भगवती श्रेष्ठ, बिमला गौचन र रुपादेवी गिरीलाई सम्मान गरिएको सहकारीका प्रवन्धक समीक्षा ढुङ्गानाले जानकारी दिनुभयो ।

२०६८ सालमा स्थापना भएको सहकारीमा हाल ८ सय ३९ जना शेयर सदस्यहरु छन्भने गएको आर्थिक वर्षसम्म कुल चार करोड पाँचलाख ३२ हजार आठसय रुपैयाँ शेयर पुँजी रहेको छ । सो अवधिमा ११ करोड २४ लाख ४२ हजार सातसय ८४ रुपैयाँ लगानी गरेको संस्थाले नौ करोड ९० लाख छ हजार आठसय ७७ रुपैयाँ बचत रहेको जनाएको छ । साधारणसभामा संस्थाका सचिव सुगम श्रेष्ठले प्रगति, कोषाध्यक्ष जगतकुमारी खत्रीले आर्थिक, लेखा संयोजक हरि गिरीले लेखासम्बन्धी, ऋण उपसमिति संयाजक अम्बिका श्रेष्ठले ऋणसम्बन्धी र शिक्षा उपसमिति संयोजक लिला गौतमले ऋणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले महिलाहरुद्वारा सञ्चालित सहकारी संघसंस्था समुदायमा नमुनायोग्य बन्दै गएकोमा प्रशंसा गर्नुभयो । उहाँले सहकारी संस्थामार्फत उत्पादन, व्यवसायमूलक, आयआर्जन, कृषि र पशुपालनका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भर एवं व्यवसायी बन्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतमको स्वागत र सचिव सुगम श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य लक्ष्मी भण्डारीले मन्तव्य राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार