निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेर राणाको घोषणा

काठमाडौँ । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गर्नुभएको छ । मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गर्नुभएको हो ।

उहाँले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताउनुभयो । राणाले आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना रहेको बताउनुभयो । ‘त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु’, उहाँले भन्नुभयो, ‘सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ ।

त्यसैले सर्वसम्मतद्वारा अध्यक्षको चयन होस् भन्ने मेरो प्रयत्न हुनेछ ।’ उहाँले राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग अनवरत रहने पनि बताउनुभयो । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्नदेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई सघाउने निर्णय लिनुभएको छ । राणाले भने कतै नखुली नेतृत्वको दौडमा आफू नरहेको र सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा जोडबल गर्ने बताउनुभएके हो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार