नेपाल चीन सम्बन्ध मानव शरीर र कलेजो जस्तै : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबीचको सम्बन्ध घनिष्ठ रहेको बताउनुभएको छ । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पाण्डा बुक कर्नर हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले चीनसँगको सम्बन्ध मानव शरीर र कलेजो जस्तै रहेको बताउनुभयो ।

नेपाल र चीनबीच परम्परादेखि कायम रहँदै आएको सम्बन्धलाई आजको युगको चुनौतीसँग सहकार्य गर्दै अघि बढाउन चाहेको उहाँले बताउनुभयो । नेपाललाई चीन सरकारले विभिन्न क्षेत्रमा दिएको सहयोग र समर्थनको लागि धन्यवाद व्यक्त गर्दै मन्त्री पौडेलले दुई देशको शिक्षा क्षेत्रमा देखा परेका कतिपय समस्याहरूलाई संयुक्त रुपमा हल गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीचको साँस्कृतिक आदानप्रदान र नेपाली विद्यार्थीहरुको शैक्षिक विकासको लागि चिनियाँ दूतावासले उच्च महत्व दिएको बताउनुभयो । २०७२ सालको भूकम्पले ध्वस्त भएका कतिपय विद्यालयहरूको पुनर्निर्माणमा चीन सरकारले सहयोग गरेको र अहिले विद्यार्थीहरू उत्साही भएर विद्यालय गएको देख्दा आफूलाई अत्यन्त खुशी लागेको राजदूत यान्छीले बताउनुभयो ।

राजदूत यान्छीले चिनियाँ दूतावासले स्थापना गरेका पाण्डा बुक कर्नर नेपालका विद्यार्थीहरुको शैक्षिक विकासको लागि महत्वपूर्ण भएको बताउनुभयो । पाण्डा बुक कर्नर देशका पाँच विद्यालयलाई हस्तान्तरण गरिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार