पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुँदैन : प्रवक्ता उपाध्याय

काठमाडौँ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताउनुभएको हो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रवक्ता उपाध्यायले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिनु निगमको बाध्यता भएको भन्दै यो फिर्ता नहुने बताउनुभएको हो । “समायोजन भन्नुहोस् वा अरु केही भन्नुहोस्, तर यो मूल्यवद्धि भएकै हो । समायोजन त निगमको बाध्यता हो । अहिलेको अवस्थामा यो फिर्ता हुँदैन,” उहाँले भन्नुभयो । उहाँले पछिल्लो ४/५ वर्षको मूल्य हेर्दा पेट्रोलियम पदार्थको मात्रै मूल्यवृद्धि भएको हो र ? भन्दै प्रश्न गर्नुभयो।

आम उपभोक्तासँग जोडिएका अन्य वस्तुमा पनि मूल्यवृद्धि भएको उहाँको भनाइ थियो ।“अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजन नै भन्छौँ, अनि घट्दा पनि समायोजन नै भन्छौँ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो । यो पूर्ण रुपले अन्य मुलुकमा निर्भर हुने विषय हो,” उहाँले भन्नुभयो । उहाँले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौँ घाटा हुने भएकाले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पार्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार