बेनीका स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम

म्याग्दी । स्वास्थ्यचौकी र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्धिसम्बन्धी तालिम आज बेनीमा सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरिएको हो ।

पोषणसम्बन्धी बृहत विषयवस्तुहरुको एकीकृत प्याकेजसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकीय पक्षको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । यसैगरी पोषणसम्बन्धी व्यवहार सुधारका लागि परामर्श र छलफल विधिद्वारा ज्ञान, सिप तथा धारणामा सकारात्मक परिवर्तन गर्न प्रोत्साहन गर्ने उद्देश्य समेत राखिएको थियो ।

तालिममा राष्ट्रिय पोषण कार्यक्रम, नीति र रणनीति, बहुक्षेत्रीय पोषण योजना, खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व, किशोरावस्था तथा मातृ पोषण, स्तनपान, पुरक वा थप खाना, बहुसुक्ष्म पोषक तत्वहरु, वृद्धि अनुगमन र यसको महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालीन पोषणबीचको सम्बन्ध, बिरामी बालबालिकाहरुको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमको बारेमा जानकारी, बहिरङ्ग सेवाको परिचय, मध्यम तथा शीघ्र कुपोषणलगायत विविध विषयहरुमा सहजीकरण गरिएको छ ।

तालिमको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल, परिवार नियोजन सुपरभाइजर गणेश सुवेदी, बेनपाका स्वास्थ्य संयोजक लिला गौतम, सहसंयोजक डिल्लीराज आचार्य, घतान स्वास्थ्यचौकी इन्चार्ज जमुना शर्मा र सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थीले सहजीकरण गर्नुभएको थियो । ७ दिनसम्म चलेको तालिममा बेनी नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले तालिममा सिकको ज्ञान, सिप र धारणालाई व्यवहारमा उतारेर आ–आफ्नो क्षेत्रमा कार्यान्वयन गर्न सहभागीलाई सुझाव दिनुभयो । बेनपाका उपप्रमुख सन्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत ढकालको विशेष उपस्थिति रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य संयोजक गौतमको सञ्चालन र तालिमका सहभागी तारा बुढाथोकीले अनुभव सुनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार