म्याग्दीमा १७ गतेदेखि दुई चरणमा फोटो सहितको मतदाता नामावली सङ्कलन हुने (तस्बिर)

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गर्न लागिएको हो ।यही १७ मंसिर देखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । उक्त पालिकाहरुमा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गरिनेछ भने २ वटा टोलीले मंसिर २९ गतेदेखि आगामी पुस ९ गतेसम्म रघगंगा र मंगलामा नामावली सङ्कलन गर्ने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म नामावली सङ्कलन गर्नेछ ।

यसैक्रममा आइतबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा ‘मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम–२०७८’ विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र कार्यालय प्रमुखसहित पत्रकार लगायतको सहभागिता रहेको थियो ।

अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले मतदाता नामावली सङ्कलनको कार्यलाई प्रारम्भदेखि नै विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । उहाँले मतदाता नामावली सङ्कलन गर्ने कार्य बालिक मताधिकारको आधार भएकाले मतदानका लागि योग्य सबै नागरिकहरुको मतदाता नामावली सङ्कलन गर्नुपर्ने बताउँदै मतदान गर्नका लागि मतदाता नामावलीमा आफ्नो नाम अनिवार्य हुनुपर्ने बताउनुभयो । मतदान गर्न योग्य सबै नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न सबैले सहयोग गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि जनप्रतिनिधि र राजनीतिक दलहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको समापन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जनताको मौलिक अधिकार अर्थात् बालिक मताधिकारको रुपमा रहेको मतदान गर्न पाउने अधिकारको सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सञ्चालन हुने फोटोसहितको मतदाता नामावली सङ्गलनको कार्यमा सम्बन्धित स्थानीय तहमा नै सुरक्षाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

अन्तत्र्रिmया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी घिमिरेले निर्वाचन कार्यालय म्याग्दीको तर्फदेखि आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रजिअ अधिकारीको अध्यक्षता र जिल्ला निर्वाचन अधिकारी घिमिेरेले उद्देश्यमाथि प्रकाश पार्दै प्रस्तुतीकरण गरेको कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चित्रनाथ शर्माले गर्नुभएको थियो ।

निर्वाचन आयोगले २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष उमेर पुरा भएका नागरिकहरुलाई समावेश गरी गएको चैत ४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । प्रकाशित मतदाता नामावलीअनुसार हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाताहरु रहेकोमा म्याग्दी जिल्लामा भने ८० हजार १ सय ५४ जना मतदाता छन् ।मतदाता नामावली सङ्कलन तथा दर्ता कार्यमा आम जनताको पहुँचलाई सहज बनाउने तथा नामदर्ता गर्न छुट भएका कानुन बमोजिम मतदाता हुन योग्य नागरिकको मतदाता नामावलीमा नामदर्ता गराउन सहज अवसर दिने उद्देश्यसहित मतदाता नामावली सङ्कलन गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार