रघुगंगाको झिँ बालश्रममुक्त वडा घोषित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ ,झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो ।


वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा प्रयोग नभएको पाइएपछि आगामी दिनमा समेत बालबालिकाहरुलाई कानुन विपरितको श्रममा नलगाउने प्रतिबद्धता सहित वडालाई बालश्रममुक्त भएको घोषणा गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले बालश्रममुक्त घोषणाको व्यवहारिक कार्यान्वयका लागि वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने बताउँदै सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा सुवेदीले गाउँपालिकाले वडा स्तरमा गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने गरि बालश्रममुक्त घोषणा अभियान सञ्चालन भएको बताउनुभयो ।

घोषणा कार्यक्रममा वडा नम्बर ५ भित्र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र स्टेशनरी लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको थियो ।गाउँपालिकाभित्रका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो ।

अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको छ भने उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

रघुगंगा गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको छ । पालिकालाई बालश्रममुक्त बनाउनुअघि वडाहरुबाट बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको जनाएको छ । यस अघि वडा नम्बर १ बेगखोला, ३ पिप्ले र ४ दग्नामलाई बालश्रममुक्त वडा घोषणा गरिसकिएको छ । गत शुक्रवार बसेको ११ औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको छ ।

बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

thumbnail

नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका अध्यक्षमा पुन

धनिलाल गर्बुजा गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दास्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत…

thumbnail

रघुगंगाको चिमखोलालाई बालश्रममुक्त वडा घोषणा

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । विहिबार चिमखोलामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा…

thumbnail

रघुगंगाको पिप्ले बालश्रममुक्त वडा घोषित (फोटो फिचर)

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । आईतवार पिप्लेमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग…