अस्कारे खोलामा ट्रस पुल निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)

मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल तीस लाख पचास हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

टिबिएसयुको प्राबिधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राबिधिक सहयोगमा निर्माण भएको सो पुलबाट धवलागिरीको मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगंगाको कुइनेका करिब सात सय घरधुरी लाभान्वित भएका छन् ।पुलको बिहिबार धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । उहाँले पुलले स्थानीयबासीलाई सुरक्षित रुपमा आवत जावत गर्न सुबिधा पुग्ने बताउनुभयो ।

धवलागिरीमा गत बर्ष सुरु भएका सात वटा मध्य सबैभन्दा पहिले निर्माण सकिएको आस्कारे खोला पुलका जग्गादाता र उपभोक्ता समितिका पदाधीकारीहरुलाई सम्मान गर्नुभयो । वडा अध्यक्ष राजाराज सुबेदी, राजनीतिक दलको तर्फबाट एमालेका वडा अध्यक्ष ज्ञानु गर्बुजा र मिलन म्याग्दीका प्राबिधिक यामबहादुर बिश्वकर्माले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाको अध्यक्षता, इश्वर सुबेदीको सञ्चालन र जनबिकास आधारभूत बिद्यालयका शिक्षक कुमार जुग्जालीको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष पुन र वडा अध्यक्ष सुबेदी सहितको टोलीले धवलागिरी गाउँपालिकाको रिख र मालिकाको बाइन्दफाँट जोड्ने ससपेन्सन ब्रिज डिभिजन मार्फत निर्माणाधिन पुलको निरिक्षण गर्नुभएको थियो । प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापा र थममाया थापाको पहलमा रिख–बाइन्दफाँट जोड्ने लामो पुल निर्माण हुन लागेको अध्यक्ष पुनले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार