इजरायलमा बर्डफ्लुको कहर, २ हजार सारस मरे

एजेन्सी । उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन् । बर्डफ्लुबाट अन्य १० हजार सारस सङ्क्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरूले अनुमान गरेका छन् । इजरायलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौँ चराचुरुङ्गी प्रभावित भएका छन् । तर, यस वर्षको महामारी अन्य वर्षको तुलनामा ठूलो भएको अर्का विज्ञ उरी नाभेह बताउँछन् ।

बर्डफ्लुबाट ठूलो सङ्ख्यामा चराहरूको मृत्यु भएको घटना ‘अस्वाभाविक’ भएको नाभेहको भनाई छ । हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिव एक लाख आप्रवासी सारस इजरायल पुगेका छन् । तीमध्ये अधिकांश सारसको एउटा बथान हुला उपत्यकामा रोकिएको थियो । हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट प्वाइन्ट’ हो । सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ ।

यसैबीच, उत्तरी इजरायलमा केही चल्लामा एच५एन१ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ । सङ्क्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अन्डा बिक्रीमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच५एन१ भाइरसबाट इन्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार