काँग्रेसको केन्द्रीय सदस्यमा रसाइलीको उम्मेदवारी घोषणा

काठमाडौँ । काँग्रेसका युवा नेता तथा सांसद प्रकाश रसाइली ‘स्‍नेही’ ले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभको छ । बझाङबाट महाधिवेशन प्रतिनिधि बन्नुभएका उहाँले बुधबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएके हो ।

उहाँ काँग्रेसका समानुपातिक सांसद हुनुहुन्छ । स्नेहीले १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यको उम्मेदवारी दिएर पराजित हुनुभएको थियो । नेपाल दलित संघका पूर्व केन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै काँग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य समेत हुनुभएको थियो ।

‘मैले ७७ वटै जिल्ला पुगेर पार्टीका नेता र साथीहरूसँग छलफल गरेको छु, समस्या, गुनासा र पार्टीको राजनीतिक कार्यदिशाबारे संवाद गरेको छु,’ उहाँले भन्नुभयो, ‘त्यहीआधारमा आफूले पार्टीको केन्द्रीय कार्यसमितिमा बसेर योगदान गर्न सक्छु भन्ने हिसावले उम्मेदवारी दिने निधो गरेको हुँ ।’ उहाँले आफू संस्थापन इत्तर समूहबाट उम्मेदवार रहेको समेत बताउनुभयो ।

नेता रसाइलीले काँग्रेसमा सामान्य नागरिकका मुद्धा उठाउनका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । ‘म आफैँ यो समाजको पिँधबाट उठेर आएको व्यक्ति हुँ । डेमोक्रेसीमा समाजका हरेक व्यक्तिको मत समान हुन्छ । चाहे त्यो विलिनियर होस् वा भरिया होस् । तिनाउ नदी किनारको सुकुम्बासी होस् वा रुपन्देहीका जमीनदार नै किन नहोऊन् ।

सबैको मतको अधिकार उतिनै हो । डेमोक्रेसीमा त्यो मतको कदर हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यो मतको कदर कांग्रेसले गर्छ, तर अझै पनि ती सबै समुदायका मुद्धा काँग्रेसमा छलफल हुन सकेको छैन । त्यो समाजको पिँधमा रहेका समुदायको मुद्धा उठाउन मेरो उम्मेदवारी हो ।’उहाँले काँग्रेसले सुकुम्बासी, भूमिहीन, दलित, गरिब, रिक्साचालक, खाडी मुलुकमा पुगेका सामान्य नागरिकहरू सबैको मुद्धालाई समान ढंगले उठाउनुपर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार