कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल–योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्बृद्धीको आधार बनाउनुपर्ने बताउनुभयो ।

“आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि जमिनको खण्डीकरण रोकेर चक्लाबन्दी गरी ठूलो परिणाममा खेती गर्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ,” उहाँले भन्नुभयो “जमिन बाँझो राख्ने समस्या घटाएर उत्पादनमुलक क्षेत्रमा जमिनको उपयोग गर्न आवश्यक छ ।”

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गरिएको बताउनुभयो ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखेर तीन बर्षअघि म्याग्दीबाट शुरु भएको हरियाली परियोजना देशका अन्य जिल्लामा पनि बिस्तार भएको परिकल्पनाकार श्रेष्ठले बताउनुभयो ।

कम्पनीको अगुवाईमा स्थानीय ३६ जना जग्गाधनी कृषक सहित ६४ जनाको पाँच करोड रुपैयाँ लगानीमा स्थापना भएको हरियालीले सिंगा र आँगेबगरमा १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेति, माछापालन, कालिजपालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेति गरेको छ ।

फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर रु। पाँच करोड सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ ।
कम्पनीले गत आर्थिक बर्ष २०७७÷७८ मा तीन करोड ९३ लाख १७ हजार रुपैयाँ तरकारी, अण्डा, कुखुरा, चल्ला, कालिज, माछा लगायत कृषि उपज बिक्री गरेको अध्यक्ष चिनीमाया श्रेष्ठले बताउनुभयो ।

हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष दण्डपाणी सापकोटाले नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना (एनएसआइपी)को पचास प्रतिशत अनुदान, प्रभु बैंकको तीस प्रतिशत ऋण र सहकारीको बीस प्रतिशत गरि दुई करोड रुपैयाँ लागतमा ब्यवसायिक बाख्रापालन शुरु गर्न लागिएको जानकारी दिनुभयो । छुट्टा, छुट्टै रुपमा भएको कम्पनी र सहकारीको साधारणसभाले अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिबेदन पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार