ताप्लेजुङबाट एक पदाधिकारी र ५ सदस्य एमाले केन्द्रीय समितिमा

ताप्लेजुङ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई नेकपा एमालेको केन्द्रीय पदाधिकारीमा निर्वाचित हुँदा थप ४ जना केन्द्रीय सदस्य भएका छन्।

संघीय सरकारका पूर्व पर्यटनमन्त्री समेत भएका भट्टराई सचिवमा(१९६० मत)लोकप्रिय दोस्रो मत सहित बिजयी हुँदा भूगोलतर्फ प्रदेश १ बाट टंक आङ्बुहाङ(१८१६ मत) र तिलकुमार मेन्याङ्वो(१८०५ मत) केन्द्रीय सदस्य निर्वाचित भए। भट्टराई यसअघि पनि एमाले सचिव थिए। आङ्बुहाङ २०६३ सालमा अन्तरिम संसद सदस्य र २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको उम्मेदवार भइ बामगठबन्धनबाट ताप्लेजुङ १(ख)बाट निर्वाचित भइ प्रदेश १ सरकारको योजना तथा आर्थिक मामिला मन्त्री समेत भइसकेका छन्।

मेन्याङ्वो २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका सांसद बनेका थिए। यस्तै ताप्लेजुङको हाङ्देवा पुख्र्यौली घर भएका चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र खुल्ला केन्द्रीय सदस्यमा(१४९४ मत)बिजयी भए। पासाङ शेर्पा आदिवासी जनजाति खुल्लातर्फबाट र उर्मिला थेबे आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्य भएकी छन्। नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसकेका शेर्पा २०६४ सालको संबिधानसभामा मन्त्रिपरिषद्बाट मनोनित संबिधानसभा सदस्य थिए।

सिरिजंगा गाउँपालिका वडा नं १ सिनामकी वडाध्यक्ष समेत रहेकी बामपन्थी आन्दोलनकी महिला अग्रज ठानिने थेबे पहिलोपटक केन्द्रीय समितिमा पुगेकी छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ भरीमा २ जना महिला वडाध्यक्षमा चुनिएका थिए। ति मध्ये थेबे एक हुन्। फुङ्लिङ नगरपालिका वडा नं ५ की वडाध्यक्ष भीमादेवी ओझा पनि ताप्लेजुङबाट एमालेको राष्ट्रिय महाधिबेशनमा जाने ४ महिलामध्ये सबैभन्दा बढी मत पाएर राष्ट्रिय महाधिबेशन प्रतिनिधि चयन भएकी थिइन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार