दरबाङमा लैङ्गीक हिंसा सम्बन्धी सचेतना

बेनी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले समाजमा हुने सबै प्रकारका हिंसाबाट उन्मुक्तीका लागि महिलाहरुलाई शिक्षासंगै आर्थिक र सामाजिक रुपमा सचेत बनाउनु पर्नेमा जोड दिनुभयो । मालिका गाउँपालिकाले १६ दिने लैङ्गीक हिंसा सम्बन्धी सचेतना हिंसा विरुद्धको दिवसको अवसरमा सुआहारा म्याग्दी र मिलन म्याग्दीसंगको सहकार्यमा बुधबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रानाले यस्तो बताउनुभएको हो ।

महिला माथि हुने सबै प्रकारका विभेदको अन्त्यका लागि शिक्षासंगै आर्थिक रुपमा सक्षम बनाउन आवश्यक छ, प्रमुख जिल्ला अधिकारी रानाले भन्नुभयो–‘समाजमा हुने हिंसाको अन्त्यका लागि स्थानीय सरकार लगायत प्रशासन र नागरिक समाजबीच समन्वय आवश्यक छ ।’कार्यक्रममा हिंसा तथा महिला शसक्तिकरणका विषयमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी श्यामकुमार राईले हिंसामा पर्ने सबै नागरिकको सुरक्षाका लागि प्रहरीले सहयोग गर्ने भएकाले हिंसा सहेर नबस्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले समाजमा विद्यमान विभेदको अन्त्यका लागि सबै भन्दा पहिला सचेतना आवश्यक रहेको बताउनुभयो ।स्थानीय आमा समुह, सहकारी संस्थामा आवद्ध महिलाहरु, विद्यार्थी, नागरिक समाजका अगुवाहरु लगायतको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, स्वागत कार्यपालिका सदस्य गौमती चपाई र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले गर्नु भएको थियो ।


कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाई अध्यक्ष लेकबहादुर पुन ,इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेल लगायत विभिन्न क्लव तथा आमा समूहका प्रमुख तथा प्रतिनिधीहरू विभिन्न विद्यालयका विद्यार्थिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार