बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण नहुँदा लामो समयदेखि लुलाङ्ग अन्धकारमा(तस्बिरहरु)

म्याग्दी । २० भदौमा बाढीले बगाएको लघुजलविद्युत परियोजना मर्मत नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङ्गबासी लामो समयदेखि अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । जिल्लाको धवलागिरी गाउँपालिका–२,लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । दर खोलामा आएको बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह,कुलो र पोल बगाएपछि विद्युत अवरुद्ध भएको थियो । लामो समयसम्म परियोजना पुनर्निर्माण नहुँदा स्थानीयबासी अन्धकारमा बस्न बाध्य छन् ।

बाढीले विद्युत गृहसंगै चार वटा पोल र मुहानको केही बाँध तथा कुलो बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजना कार्यसमितिका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो ।उहाँका अनुसार बाढीले विद्युतगृहमा रहेका जेनेरेटर लगायत सबै उपकरण खोलाले बगाएको छ । विद्युत आपुर्ती बन्द हुँदा वडा नम्बर २ स्थित खोरीया ,लुलाङ्ग ,लमसुङ्ग लगायतका ३५४ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् । भने विद्युतबाट चल्ने चार वटा मिल,फर्निचर ,बेकरी उद्योग ,मासु पसल, मोवाइल सेवा समेत प्रभावित भएका छन् । लामो समयसम्म विद्युत आपुर्ति नहुँदा समयस्या भएको स्थानीय प्रविना बिकले बताउनुभयो ।

सरकारको वेवास्ताका कारण लामो समयसम्म पनि विद्युत आपुर्ती नहुँदा समस्या भएको स्थानीयले गुनासो गरे ।  स्थानीयले सोलार ,डिजेल र टुकीको भरमा दैनिकी चलाउन बाध्य भएका छन् । परिक्षाको समय नजिकिदै गर्दा विद्युत मर्मतको सुरसार नहुँदा विद्यार्थीलाई थप समस्या भएको स्थानीय समाजसेवी भक्त सिंकिजा पुनले बताउनुभयो । उहाँले विद्युत सुचारु गर्न स्थानीय ,प्रदेश र संघिय सरकारले बेवास्ता गरेको  गुनासो पोख्नुभयो ।

यस अघि २०७३ मा पहिरोले जुगेपानि स्थित २५ किलोवाट क्षमताको विद्युतगृह बगाएपछि सोही परियोजनालाई २०७५ मा मरेनीको फेदीमा स्थानान्त्रण गरिएको हो । गाउँपालिकाको ५० लाख र बैकल्पिक उर्जा प्रद्र्धन केन्द्रको ८६ लाख रुपैयाँ तथा स्थानीयको श्रमदानमा मरेनीको फेदीमा २०७५ देखी पुनर्निर्माण सूरु गरिएको परियोजना २०७६ कात्तिकमा सम्पन्न भई विद्युत सुचारु गरिएको थियो । सो परियोजनाको पुनर्निमाण ओसिएन कम्पनीले गरेको थियो ।

विद्युत पुनर्निर्माण भएको साढे दुई बर्ष नबित्दै बाढीले विद्युतगृह बगाएपछि स्थानीयबासी थप चिन्तित बनेका छन् । विद्युत गृह ,कुलो ,बाँध र पोल बगाउँदा एक करोड ५० लाख रुपैयाँ बढीको आर्थिक क्षती भएको छ । परियोजना मर्मत तथा पुनर्निर्माणका लागि भौगोलिक अवस्थाको बारेमा सर्भे गरिएको छ ।

लघुजलविद्युत परियोजना पुर्ननिर्माणको लािग गाउँपालिकाबाट दश लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट दश लाख गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाअध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजना पुर्ननिर्माणको लागि १८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आगामी दुई महिना भित्र परियोजना पुनर्निर्माण गरेर विद्युत सुचारु हुने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार