बेगखोलालाई बाल श्रममुक्त वडा घोषणा (तस्बिरहरु)

म्याग्दी । बालबालिकालाई श्रमबाट मुक्त गरिएको उद्घोस सहित म्याग्दीको रघुगंगा गाउँपालिका–१ ,बेगखोलालाई बालमैत्री वडा घोषणा गरिएको छ । बुधवार बेगमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब, बालक्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता सहित बालश्रममुक्त वडा घोषणा गरिएको हो ।

वडालाई बालश्रम मुक्त घोषित गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले सामाजिक विकासका लागि विद्यालय, अभिभावक र जनप्रतिनिधिको पहलमा वडालाई बाल श्रममुक्त बनाएको बताउनुभयो । उहाँले बालश्रम मुक्त गर्न गाउँपालिकाले निर्माण गरेको रणनीतिक योजना एवं लक्ष्य अनुसार आठ वटा मध्ये १ नम्बरलाई बालमैत्री एवं बालश्रममुक्त बनाइएको बताउनुभयो।

उपाध्यक्ष तिलिजाले बालबालिकाहरुलाई कानुन विपरितको श्रममा लगाउन नपाईने बताउँदै उनीहरुका लागि पढाईमा उपयुक्त वातावरण सवै मिलेर सिर्जना गर्न आग्रह गर्नुभयो । बालश्रम मुक्त गरेसँगै उक्त वडाभित्र बालबालिकालाई श्रममा लगाउन पूर्ण रोक लगाइएको छ । कार्यक्रममा वडा अध्यक्ष बिलबहादुर फगामीले बेगखोला वडाभित्रका बालबालिकाहरुको अधिकार सुरक्षित गराउन आवश्यक सहजीकरण गरिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्री सुवेदी, वडा सचिब सरस्वती आचार्य, महादेव माविका प्रअ दुतबहादुर गर्वुजा, कालिका आधारभुत विद्यालयका शिक्षक घनबहादुर फगामी, कृष्ण आधारभुत विद्यालयका शिक्षक कर्मलाल रुचाल, पार्वती आधारभुत विद्यालयका शिक्षक थानमायाँ गर्वुजा लगायतले बालबालिकालाई कडा श्रममा लगाउने काम कानुन र सामाजिक न्याय बाहिर हुने भएकाले बालश्रममुक्त वडा घोषणालाई व्यवहारमा उतार्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

पालिकालाई बालश्रममुक्त बनाउनुअघि वडाहरुबाट बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको जनाएको छ । बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ । रघुगंगामा बालश्रमको जोखिममा रहेका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो ।

जोखिमा रहेका बालबालिकाहरुलाई झोला लगायत पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने र उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, पुस महिनाभित्र ८ वटै वडालाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरिएको छ । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गर्दै आएको सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार