म्याग्दीमा दुई चरणमा तस्विर सहितको मतदाता नामावली सङ्कलन, पाँच गाउँपालिकामा २६ सयबढी मतदाता थपिए

म्याग्दी ,११ पुष ।हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा तस्विरसहितको मतदाता नामावली सङ्कलन भएको छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न निर्वाचन आयोगको कार्यक्रमअनुसार यसअघि नै मतदाता नामावली सङ्कलन गरिएको हो ।

गएको मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म तस्विरसहितको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । ती पालिकामा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गरिएको थियो भने २ वटा टोलीले मंसिर २९ गतेदेखि यही पुसको ९ गतेसम्म रघगंगा र मंगला गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरेको थियो ।

उक्त टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म तस्विरसहितको मतदाता नामावली सङ्कलनको कार्य सञ्चालन गरेको थियो । यसैगरी बेनी नगरपालिकाको लागि भने जिल्ला निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन गरिएको थियो । जिल्लाको पाँचवटा गाउँपालिमा सञ्चालित तस्विरसहितको मतदाता नामावली सङ्कलनको र्काक्रममार्फत कुल २ हजार ६ सय २ जनाको नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकामा सञ्चालित तस्विरसहितको मतदाता नामावली सङ्कलनको कार्य सकिएको छ भने अहिले जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत तस्विरसहितको मतदाता नामावली सङ्कलन भैरहेको छ । यसअघि गाउँपालिकामा सञ्चालित तस्विरसहितको मतदाता नामावली सङ्कलनको कार्यक्रमबाट सबैभन्दा धेरै मालिका गाउँपालिकामा ८ सय ३५ जनाले नामदर्ता गराएका छन् । यसैगरी मंगलामा ७ सय ७९, अन्नपूर्णमा ४ सय ६७, रघुगंगामा २ सय ८९ र धवलागिरिमा २ सय ३२ जनाको तस्विरसहितको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

तस्विरसहितको मतदाता नामावली सङ्कलनको कार्यक्रममार्फत अहिले म्याग्दी जिल्लाभन्दा बाहिरका सर्वसाधारण, नागरिकको पनि नामावली सङ्कलन गरिएको छ । गाउँपालिकामा सञ्चालित अभियानका क्रममा मतदाता नामावली सङ्कलनमा छुटेका नागरिकहरुले जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा पुगेर आफ्नो नाम समावेश गराउन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेपश्चात् सोही दिनदेखि मतदाता नामावली सङ्कलनको कार्य रोकिनेछ ।

निर्वाचन आयोगले २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष उमेर पुरा भएका नागरिकहरुलाई समावेश गरी गएको चैत ४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो । प्रकाशित नामावलीअनुसार हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाताहरु रहेकोमा म्याग्दी जिल्लामा भने ८० हजार १ सय ५४ जना मतदाता छन् ।मतदाता नामावली सङ्कलन तथा दर्ता कार्यमा आम जनताको पहुँचलाई सहज बनाउने र नामदर्ता गर्न छुट भएका कानुन बमोजिम मतदाता हुन योग्य नागरिकको मतदाता नामावलीमा नामदर्ता गराउन सहज अवसर दिने उद्देश्यसहित मतदाता नामावली सङ्कलन गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार