रघुगंगाको झिँ बालश्रममुक्त वडा घोषित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ ,झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो ।


वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा प्रयोग नभएको पाइएपछि आगामी दिनमा समेत बालबालिकाहरुलाई कानुन विपरितको श्रममा नलगाउने प्रतिबद्धता सहित वडालाई बालश्रममुक्त भएको घोषणा गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालश्रम कानुन विपरितको कार्य र सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई श्रममा लगाउने कामलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले बालश्रममुक्त घोषणाको व्यवहारिक कार्यान्वयका लागि वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने बताउँदै सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा सुवेदीले गाउँपालिकाले वडा स्तरमा गरेको सर्वेक्षणको आधारमा बालश्रममा रहेका बालबालिकाहरु नभेटिएको र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्टेशनरी लगायतका सामाग्री सहयोग गर्ने गरि बालश्रममुक्त घोषणा अभियान सञ्चालन भएको बताउनुभयो ।

घोषणा कार्यक्रममा वडा नम्बर ५ भित्र बालश्रमको जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र स्टेशनरी लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको थियो ।गाउँपालिकाभित्रका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो ।

अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको छ भने उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

रघुगंगा गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको छ । पालिकालाई बालश्रममुक्त बनाउनुअघि वडाहरुबाट बालश्रममुक्त घोषणा अभियान सञ्चालन गरेको जनाएको छ । यस अघि वडा नम्बर १ बेगखोला, ३ पिप्ले र ४ दग्नामलाई बालश्रममुक्त वडा घोषणा गरिसकिएको छ । गत शुक्रवार बसेको ११ औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको छ ।

बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ । गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार