लमसुङमा सात घर सहित स्वास्थ्य चौकी र विद्यालय पहिरोको उच्च जोखिममा (तस्बिरहरु)

म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–२ ,स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । दरखोलाको कटानको कारण बस्तीको तलबाट खसेको पहिरोले सात घर परिवार उच्च जोखिममा परेका छन् । लमसुङमा रहेको लुलाङ्ग स्वास्थ्यचौकी,पशु सेवा केन्द्रको भवन र लमसुङ मावि समेत पहिरोको जोखिममा परेको स्थानीय पहिरो पीडित ज्ञानबहादुर पाइजाले बताउनुभयो ।

उहाँका अनुसार ५ कात्तिकमा दरखोलामा आएको बाढीको कटानका कारण बस्ती तलबाट खसेको पहिरोले रनप्रसाद पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घर उच्च जोखिममा परेका हुन् । भने सोही लमसुङ्गको बगरमा मनप्रसाद सुनार ,अथमा बुढा र लोकेश विकको घर पनि नदी कटानले उच्च जोखिममा परेका छन् ।

‘कात्तिक ५ आएको बर्सातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि बस्ती उच्च जोखिममा परेको छ ,’पहिरो पीडित पाइजाले भन्नुभयो ,‘सुविधा सम्पन्न पक्की भवन भएको स्वास्थ्यचौकी,भेटेरिनरी र विद्यालय समेत जोखिममा परेको छन् ।’ पहिरो नियन्त्रण योजनाका लागि सरकारले बेवास्ता गरेको गुनासो पोख्नुभयो ।

तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालयसमेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने उहाँले बताउनुभयो । लमसुङ बस्तीको माथितर्फ विसं २०७३ मा गएको जुगेपानीको पहिरो रोकिए पनि तलबाट नयाँ पहिरो जान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार