१६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम

म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीको दुई ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेनी नगरपालिका–१, रत्नेचौरको अर्जम र २ नम्बर वडा ज्यामरुककोटको भकुण्डेमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।


बेनी नगरपालिकाद्वारा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लैङ्गिक हिंसाको विरुद्धमा समुदायस्तरमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले अहिलेको २१औं शताब्दीको युगमा अझै पनि गाउँघरमा लैङ्गिक, घरेलु तथा महिला हिंसा र सामाजिक हिंसा कायमै रहेकाले यसको न्युनीकरण गर्न सचेतनामूलक कार्यक्रमसँगै कानुनी उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्जममा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालविवाह, बहुविवाह, जबरजस्ती करणी, घरेलु तथा महिला हिंसा, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, मदिराजन्य पदार्थ, कानुनी उपचार लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी भकुण्डेमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज केसीले लैङ्गिक तथा महिला हिंसा, शारिरीक, मानसिक, यौनजन्य र आर्थिक यातनाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा रामचन्द्र माध्यमिक विद्यालय अर्जम र अर्जुन मावि भकुण्डेका विद्यार्थी, आमा समूह, युवा क्लबसहित स्थानीयको सहभागिता रहेको थियो । बेनी नगरपालिकाका सहायक महिला विकास निरीक्षक तुलसी पाईजाले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र ज्यामरुककोटका सामाजिक परिचालक उमा रिजालले स्वागन गर्नुभएको थियो ।

यसअघि शनिबार बेनी नगरपालिकाको आयोजनामा ४ नम्बर वडा सिङ्गामा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो । अभियानको सन्र्दभ पारेर बेनी नगरपालिका क्षेत्रमा सचेतना तथा स्वास्थ्यका विभिन्न कार्यक्रमहरु आयोजना गरिएको बेनपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार