आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा

काठमाडौँ । रौतहट बम बिस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद् मोहमद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ।

आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको हो । आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ । उनको मुद्दा यसअघि विभिन्न समयमा पेसी चढेपनि सुनुवाइ हुन सकेको छैन ।

जिल्ला, उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो । आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचराधीन रहेको छ ।आलामलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो । जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो ।

आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो । आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तर हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विस्फोटन गराइ घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र बिस्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने आरोपत्रमा गरिएको थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटका राजपुरमा भएको बम बिस्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो । आलमले बनाउन लगाएको बम बिस्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गर्न लगाइएको अभियोग प्रहरीले उनीमाथि लगाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार